निर्मलालाई न्याय दिलाउन माग गर्दै हस्ताक्षर संकलन सुरु

मंसिर १८ मंगलवार, २०७५
खोटाङ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारी र हत्यारालाई कारबाही माग गर्दै नयाँ शक्ति पार्टी निकट नयाँ शक्ति विद्यार्थी यूनियनले खोटाङमा हस्ताक्षर अभियान थालेको छ । निर्मलाको हत्या भएको ४ महिना बित्दा समेत दोषीको पहिचान हुन नसकोको भन्दै नयाँ शक्ति विद्यार्थी यूनियन दिक्तेल बहुमुखी क्याम्पस कमिटिले दोषी पत्ता लगाएर कारबाहीका लागि दवाव स्वरुप मंगलवारदेखि हस्ताक्षर अभियान थालेको हो ।

निर्मलाको न्यायको लागि क्याम्पसबाट सुरु गरिएको अभियान जिल्लाका अन्य शैक्षिक संस्था एबं ठाउँमा पु¥याइने नयाँ शक्ति विद्यार्थी यूनियनका जिल्ला अध्यक्ष सञ्जित राईले बताए ।

प्रदेशभर आगामी मंसिर अन्तिमसम्म संकलन गरिने हस्ताक्षर मूख्यमन्त्रीमार्फत प्रधानमन्त्रीलाई पठाउने गरी निर्मलाको पक्षमा हस्ताक्षर संकलन अभियान थालिएको नयाँ शक्ति विद्यार्थी यूनियनले जनाएको छ । हस्ताक्षर अभियान सरकारको बिरोध नभै निर्मलाको न्यायका लागि सञ्चालन गरिएको अध्यक्ष राईले बताए ।

‘प्रदेशभित्र मंसिरभरी संकलन गरिएको हस्ताक्षर मूख्यमन्त्रीमार्फत प्रधानमन्त्रीलाई पठाउने छौँ,’ अध्यक्ष राईले भने, ‘यो सरकारको विरोध गरिएको होईन । निर्मलाको न्यायका लागि हस्ताक्षर संकलन सुरु गरिएको हो । निर्मलालाई न्याय दिलाउनेकुरामा सरकारलाई सबैको साथ चाहिन्छ ।’

निर्मलाको बलात्कारपछि हत्या गर्नमा संलग्न दोषीको पहिचान गरेर कारबाही गर्न माग गर्दै नेपाल तरुण दल खोटाङले पनि सोमबार ज्ञापनपत्र पठाउँदै सरकारको ध्यानाकर्षण गराएको थियो ।
क्याप्सन ः निर्मला पन्तको न्यायका लागि नयाँ शक्ति विद्यार्थी यूनियनको अगुवाईमा दिक्तेलमा हस्ताक्षर संकलन गरिँदै ।