‘सूचनाको हकको विषयमा जनता अझै अनविज्ञ’

मंसिर १८ मंगलवार, २०७५
खोटाङ । राष्ट्रिय सूचना आयोगका आयुक्त किरणकुमार पोखरेलले सूचनाको हकको महत्वका बिषयमा अझै पनि अधिक जनतालाई बुझाउन नसकिएको बताएका छन् । प्रदेश नम्बर १ अन्तरगतका स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतका लागि मंगलबार खोटाङको दिक्तेलमा आयोजना गरिएको सूचनाको हक सम्बन्धी अन्तरक्रीया कार्यक्रममा सूचना आयुक्त पोखरेलले अझै पनि ९५ प्रतिशत जनतालाई सूचनाको हकको महत्व र उपयोगीताका विषयमा जानकारी नभएको उल्लेख गरे ।


जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा आयुक्त पोखरेलले सार्वजनिक निकायलाई जनताप्रति जवाफदेही र उत्तरदायी बनाउनका लागि सूचनाको हकले ‘टुल्स’को काम गर्ने बताए । जनताले सूचनाको हकलाई अधिकारको रुपमा बुझेर सार्वजनिक निकायबाट आवश्यक सूचना लिने परिपाटीको विकास भए मात्र लोकतन्त्र सुढृढ हुने पोखरेलको भनाई थियो ।

आयुक्त पोखेरलले सुशासन र जवाफदेहिताका लागि सूचनाको हकलाई जनताको घर–घरमा पु¥याएर जनता जगाउन महाअभियान लाग्न जनप्रतिनिधिलाई आग्रह गरे । कार्यक्रममा सहभागी खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र भोजपुरका स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतलाई सूचनाको हकका बिषयमा जानकारी दिइएको राष्ट्रिय सूचना आयोगका सचिव मणिराम ओझाले जानकारी दिए ।