कुभिण्डेमा तीन दिने निःशुल्क दन्त शिविर शुरु

मंसिर १८ मंगलवार, २०७५
खोटाङ । खोटाङको रावाबेंशी गाउँपालिका”१ कुभिण्डेमा तीन दिने निःशुल्क दन्त स्वास्थ्य शिविर शुरु भएको छ । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उघाटन गरेको दन्त शिविरको पहिलो दिन ९० जनाले दाँतको उपचार गरेका छन् । दन्त रोगीहरुलाई गाउँमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले मंगलबार सुरु भएको शिविर बिहिवारसम्म सञ्चालन हुने गाउँपालिका प्रमुख लिलानाथ निरौलाले जानकारी दिए ।

सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ को आयोजना, पूर्वाञ्चल डेण्टल अस्पताल इटहरीको प्राविधिक सहयोग र रावाबेंशी गाउँपालिकाको व्यव्स्थापनमा कुभिण्डेस्थित रत्नराज्य आधारभूत विद्यालयको प्राङ्गणमा भएको शिविरमा किराले खाएको, ठुटा दाँत र नमिलेका (दारे) दाँतहरु भएका ९० जनाले दात फुकालेका हुन् ।

पछि राख्ने गरी ४७ जनाले दाँत फुकालेको गाउँपालिकाले जनाएको छ । डेण्टल अस्पतालका ६ जना दन्त विशेषज्ञ टोलीले आगामी मंसिर २० गतेसम्म दाँतको चेकजाँच, फुकाल्ने, राख्ने निश्चित गर्ने र औषधी वितरण गर्ने गाउँपालिका प्रमुख निरौलाले बताए । दाँतका कारण वर्षौदेखि पीडा खेप्दै आएका ६ वटा वडाका सबैभन्दा धेरै बृद्धबृद्धाहले दाँतको उपचार गराईरहेको जनाइएको छ ।