पूर्वप्रधानमन्त्री डा. भट्टराई पाँच दिनका लागि खोटाङमा

मंसिर १९ बुधवार, २०७५
खोटाङ । संमृद्धि अभियानको क्रममा  पूर्वप्रधानमन्त्री एबं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई खोटाङको त्रिधार्मिकस्थल हलेसी आइपुगेका छन् । हलेसीको सम्भाव्यता बारे अध्ययन, किरात समुदायको उद्गम थलोका रुपमा रहेको तुवाचुङ जायजुमको अध्ययन–भ्रमण, नयाँ शिक्षाको अभ्यास गरिरहेको शुभद्रा–मदन फाउण्डेसन अवलोकन, कार्यकर्ता भेटघाट लगायतका कार्यक्रम लिएर डा. भट्टराई बुधबार साँझ हलेसी आइपुगेका हुन् ।

‘संमृद्धिका लागि जनतासँग बाबुराम अभियान’ कार्यक्रमका सिलसिलामा डा. भट्टराई पाँच दिनका लागि खोटाङ आएको नयाँ शक्ति खोटाङका संयोजक सूर्य राईले बताए । हलेसीमा आइपुगेका डा. भट्टराईलाई नयाँ शक्तिका नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् ।

डा. भट्टराईले बिहिबार बिहान हलेसीको समग्र अवस्था र सम्भावना बारे अध्ययन, हलेसी तुवाचुङ नगरपालिकाको विशेष नगर सभालाई सम्बोधन पछि तुवाचुङ जायजुमको अवलोकन गर्ने कार्यक्रम छ ।

यस्तै, शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा–मदन फाउण्डेसनले शिक्षाका क्षेत्रमा गरिरहेको शैक्षिक अभ्यास बारे अध्ययन तथा जिल्लाका बिशिष्ट व्यक्तिसँग भेटघाट तथा शनिबार बिहान दिक्तेलको हाटडाँडामा हुने कार्यक्रमलाई सम्बोधन, दिउँसो जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रममा सम्बोधन गरेपछि बेलुका नयाँ शक्तीका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको संयोजक राईले बताए । डा. भट्टराई आईतबार काठ्माण्डौं फर्कने कार्यक्रम छ ।