उचित योजना बनाउन नसक्दा समस्या : डा. भट्टराई

मंसिर २२ शनिवार, २०७५
खोटाङ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भूउपयोगमा अहिलेसम्म उचित योजना बनाउन नसक्दा अधिकांश स्थानीय तहमा समस्या आएको बताएका छन् । जिल्ला समन्वय समिति खोटाङले शनिबार दिक्तेलमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले यो युग समृद्धिको युग भएकाले कृषिप्रधान देशमा ‘ल्यण्ड युज प्लान’ अनिवार्य आवश्यकता भएको उल्लेख गरे ।

‘हाम्रो मुख्य श्रोत नै जमिन भएकाले सबैभन्दा पहिले नगरपालिका र गाउँपालिकाले जमिन उपयोगको योजना बनाउनुपर्छ,’ भट्टराईले भने, ‘कुन क्षेत्रमा कृषिजन्य कार्य गर्ने, कुन क्षेत्रमा वनजंगलको काम गर्ने, कुन ठाउँमा रेजिडेन्सियल, कहाँ व्यवसायिक काम, कहाँ प्रशासनिक क्षेत्र बनाउने भन्ने कुराको राम्रोसँग प्लान नहुँदाखेरि समस्या भइरहेका छ ।

डा. भट्टराईको सडक फराकिलो बनाउनेक्रममा काठ्माण्डौंमा डोजर लगाएजस्तो हिम्मतकासाथ काम गर्नसके मात्र स्थानीय तहले सफलता प्राप्त गर्ने बताए । स्थानीय सरकारको अपेक्षित सफलता प्राप्तिका लागि नातागोता, आफ्नो पार्टीका कार्यकर्ताप्रति आँखा चिम्लेर निर्मम हुन सक्नुपर्ने डा. भट्टराईको भनाई थियो ।

‘आफ्नो नातागोता, आफ्नो पार्टीका परेछ नगरौ भन्न थाल्नु भो भने योजना कार्यान्वयन पटक्कै हुँदैन । आँखा मसक्क चिम्लिेर लाग्नुप¥यो,’ भट्टराईले भने, ‘यस्ता बिषयमा चुनावी स्वार्थ हेरियो भने कुरा बिग्रिहाल्छ । यसमा निर्मम हुनैपर्छ । मुख्य रुपमा आफ्नै पार्टीका साथीहरुप्रति निर्मम हुन सक्नुप¥यो । त्यो हुन सक्नु भयो भने स्थानीय सरकारलाई अघि लान सक्नुहुन्छ । नत्र भोली मेरो चुनाव के होला, कसो होला भन्न थालियो भने केही गर्न सकिदैन ।’

पाँच दिनका लागि गत बुधबार साँझ खोटाङ आएका भट्टराईले जनताको प्रत्यक्ष सहभागीता विना जुनसुकै ठाउँको विकास र संमृद्धि सम्भव नहुने भएकाले जनसहभागीतालाई प्राथमिकता दिन स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेका छन् । जनताको सहभागीताको अभावकैकारण पञ्चायत कालमा विकास हुन नसकेको उल्लेख गर्दै भट्टराईले विकास र समृद्धिमा जनतालाईसँगै जोड्न सक्नुपर्ने बताए ।

डा. भट्टराईले स्थानीय तहलाई संव ै उल्लेख गरेर २२ वटा अधिकार दिएको नेपालको संविधान नयाँ मोडेल भएकाले कार्यान्वयनमा केही जटिलता देखिएको बताए । ‘स्थानीय तहलाई उल्लेखै गरेर अधिकार दिने संविधान विश्वमै नयाँ मोडेल हो,’ भट्टराईले भने, ‘त्यसकारण यसको कार्यान्वयनमा केही जटिलता आउन सक्छ । तर, यसलाई ठीक ढंगले प्रयोग गर्दै आइपरेका समस्याका गाँठा फुकाउँदै जाने हो । जगेर्ना गर्ने हो, फाल्ने होईन ।’