सिसि क्यामेराको निगरानीमा दिक्तेलबजार

पुस ४ बुधवार, २०७५
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलबजारमा सिसि क्यामेरा जडान गरेको छ । जिल्लाकै प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको दिक्तेलबजारको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउनका लागि नगरपालिकाले विभिन्न ८ स्थानमा १६ वटा सिसि क्यामेरा जडान गरेको हो ।

करिव १० लाख रुपैयाँको खर्चमा दिक्तेलको रत्नपार्क, पुरानो बेसक्याम्प, त्रिवेणीचौक, भानुचौक, हाटडाँडा र अस्पताल चौकको विभिन्न ठाउँमा सिसी क्यामेरा जडान गरिएको नगरपालिकाले जनाएको छ । दिक्तेलबजारको निगरानीका लागि जडान गरिएको सिसि क्यामेरा बुधबार नगरप्रमुख दिपनारायण रिजालले उद्घाटन गरेका हुन ।

विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रण, यत्रतत्र राखिने निर्माण सामग्री, जथाभावी पार्किङ, झै–झगडा, चोरी/डकैती, सडक पेटीमा व्यापारिक समान राखेर बिक्री गर्ने प्रचलनको निगरानीका लागि नगरपालिकाले सिसि क्यामेरा जडान गरेको नगरप्रमुख रिजाल बताए । बजारभित्र आगामी दिनमा गलत गर्ने जो कोही उम्कने अवस्था छैन् नगरप्रमुख रिजालले भने यसले नगरपालिकाको विकासमा एउटा ईटा थप्ने काम गरेको छ ।दिक्तेलबजारका समग्र क्षेत्रलाई समेट्ने गरी मूख्य–मूख्य चौकमा सिसि क्यामेरा राखिएको नगरपालिकाले जनाएको छ ।

सार्वजनिकस्थलमा धुम्रपान निषेधित क्षेत्र घोषित दिक्तेलबजारका सार्वजनिक थलोमा भइरहेका धुम्रपान लगायतका गतिविधिलाई समेत सिसि क्यामेराबाट निगरानी गर्न सकिने भएको छ । सिसी क्यामेरा अभावमा यसअघि दिक्तेलबजारमा दिनदहाडै आपाराधिक क्रियाकलाप भएपनि दोषी पत्ता लगाउन गाह्रो हुने गरेको थियो ।
चौविसै घण्टा चालु रहने सिसि क्यामेराबाट नगरपालिका र जिल्ला प्रहरी कार्यालयले दिक्तेलबजार क्षेत्रको समग्र गतिविधिको निगरानी गर्ने जनाइएको छ ।

नगरपालिकाले जडान गरेको सिसी क्यामेराले विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रण तथा शान्ति सुरक्षामा विद्युतिय उपकरणको प्रयोगलाई प्रभावकारी बनाउन, अपराध अनुसन्धानमा सहयोग, ट्राफिक व्यवस्थापनलगायत बजारको सामाजिक सुरक्षामा समेत सघाउँ पुग्ने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले बताए ।

 

KHOTANGTODY ONLINE TV