सात महिना अगावै बन्यो स्वास्थ्यचौकीको सुबिधा सम्पन्न भवन

पुस ६ शुक्रवार, २०७५
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित स्वास्थ्य चौकी दुर्छिमको सुविधा सम्पन्न भवन बनेको छ । शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई मोरङको आर्थिक तथा प्राविधिक सहयोगमा स्वास्थ्य चौकीको सुविधा सम्पन्न निर्माण गरिएको हो ।

२ करोड ९ लाखको लागतमा निर्माण कम्पनी प्रतिष्ठा कन्ट्रक्सनले सम्झौता मितिभन्दा ७ महिना अगावै स्वास्थ्यचौको भवन निर्माण पूरा गरेको हो । १७ कोठा भएको २ तले भवन नगरका नगरप्रमुख इवन राईले बिहिबार उद्घाटन गरेका छन् ।

जिल्लामा यस्ता प्रकृतिका ९ वटा भवन निर्माण भइरहेको अवस्थामा दुर्छिम स्वास्थ्य चौकीको भवन समयभन्दा ७ महिना अगाडि नै सम्पन्न भएको हो । जेठसम्म सम्झौता म्याद रहेको भवन अगाडि निर्माण गरेकामा निर्माण कम्पनी प्रतिष्ठा कन्ट्रक्सनका कैलास राई र सटेन्द्रसिं ठकुरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

कतिपय निर्माण कम्पनीले निर्माण सम्बन्धीका कामको जिम्मा लिएर म्याद गुजार्दै हैरान पार्ने गरेकामा प्रतिष्ठा कन्ट्रक्सनले समय अगावै स्वास्थ्य चौकीको भवन निर्माण गरेकामा भवन उद्घाटनका अवशरमा सम्मान गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको केन्द्रका रुपमा रहेको दुर्छिममा स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन बनेपछि स्वास्थ्य सेवा प्रवाहमा थप सहज भएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।