हलेसी साईनो स्टारको प्रथम अडिसन सुरु

पुस ९ सोमवार, २०७५
खोटाङ । खोटाङमा गायन प्रतियोगीता हलेसी साईनो स्टारको पालिका स्तरिय प्रथम अडिसन सुरु भएको छ । गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभाको पहिचान र संवद्र्धन गर्दै गीत संगीतको व्यवसायिक विकासका लागि साईनो कला केन्द्र खोटाङ र हलेसी टाइम्स दैनिकको सहकार्यमा आयोजित हलेसी साईनो स्टार–२०७५ को अडिसन सोमबार साकेला गाउँपालिकाबाट सुरु गरिएको हो । गीत÷संगीतको व्यवसायिक विकासका लागि सुरु गरिएको हलेसी साईनो स्टारका लागि प्रथम अडिसन अन्तरगत साकेला गाउँपालिकाबाट प्रज्वल राई, रविन दियाली, देबेन्द्र राई, सुजन राई, मनकुमार राई, दिलसाङ तामाङ, सुजन कट्वाल, विकास राई, पूर्णकला तामाङ र मौसम तामाङ छानिएका छन् ।

दुई नगरपालिका र आठ गाउँपालिकाका ११ स्थानमा सञ्चालन हुने पालिकास्तरिय प्रथम अडिसनबाट छानिएका ११० प्रतियोगीलाई जिल्ला अडिसनमा प्रतिष्पर्धा गराउँदै हलेसी साईनो स्टारको टुंगो लगाइने साईनो कला केन्द्रका अध्यक्ष प्रमोद श्रेष्ठले बताए । आगामी मंसिर २८ गते बुईपा बजार पुगेर टुंगिने प्रथम अडिसनबाट छानिएका प्रतिष्पर्धीलाई ७ चरणमा सञ्चालन हुने जिल्ला स्तरिय अडिसनबाट उत्कृष्ट दशमा पुगेका प्रतियोगीबाटै फाईनल अडिसन सञ्चालन गरेर विजेता छनौट गरिने आयोजकले जनाएको छ ।

पालिका र जिल्लास्तर गरी ८ अडिसनमा सम्पन्न हुने गायन प्रतियोगीताको प्रथम हुने स्वरका प्रतिभाले नगद ५५ हजार ५५५ रुपैयाँका साथमा गीत रेकर्डिङ, एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवशरकासाथमा प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् । यस्तै, दोश्रो हुने प्रतिभालाई नगद ३० हजारका साथमा एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवशरकासाथमा प्रमाणपत्र र ट्रफी तथा तेश्रो हुने प्रतिभालाई नगद १५ हजार ५५५ रुपैयाँकासाथमा एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवशरकासाथमा प्रमाणपत्र र ट्रफी प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए । ‘अझै पनि कुना कन्दरामा लोभलाग्दा प्रतिभाहरु ओझेलमै छन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘अवशर खोजीरहेका तिनै प्रतिभालाई पहिचान गरेर व्यवसायीकरुपमा गीत संगीतमा लाग्ने वाताबरण निर्माणका लागि हलेसी साईनो स्टारको परिकल्पना गरिएको हो ।’

आयोजकका अनुशार मंसिर १० गते दिप्रुङ चुइचुम्मा गाउँपालिका, मंसिर १२ गते खोटेहाङ गाउँपालिका, मंसिर १४ गते जन्तेढुंगा गाउँपालिका, मंसिर १६ गते बराहपोखरी गाउँपालिका, मंसिर २० गते हलेसी तुवाचुङ नगरपालिका, मंसिर २१ गते रावाबेँसी गाउँपालिका, मंसिर २२ गते ऐसेलुखर्क गाउँपालिका, मंसिर २४ गते दिक्तेल, मंसिर २६ गते केपीलासगढी गाउँपालिका र मंसिर २८ गते बुईपा बजारमा प्रथम अडिसन सञ्चालन गरिने छ ।