खोटाङमा बृहत कृषि मेला प्रदर्शनी हुने

पुस ११ बुधवार, २०७५
खोटाङ । खोटाङमा बृहत कृषक दिवस तथा प्रतियोगीतात्मक कृषि मेला प्रदर्शनी हुने भएको छ । जिल्लाका कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्ने उद्देश्यले आगामी पुस १३ र १४ गते दिक्तेलमा नवौं कृषक दिवस तथा प्रतियोगीतात्मक कृषि मेला प्रदर्शनी हुने भएको हो । कृषि व्यवसायको सम्मान र प्रोत्साहनका लागि जिल्लामा बिगत २०६५ सालदेखि सञ्चालन हुँदैआएको बृहत कृषि मेला एबं औधोगिक प्रदर्शनीकै निरन्तरता स्वरुप कृषक दिवस तथा प्रतियोगीतात्मक कृषि मेला प्रदर्शनीको तयारी गरिएको हो ।

अर्गानिक कृषि उपज उत्पादन एबं बजारीकरणका लागि सञ्चालन गर्न लागिएको कृषक दिवस तथा प्रतियोगीतात्मक कृषि मेला प्रदर्शनीको तयारी पूरा भएको आयोजकले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । यस अघिसम्म तत्कालिन कृषि विकास कार्यालयको संयोजनमा सञ्चालन हुँदै आएको कृषक दिवस तथा प्रतियोगीतात्मक कृषि मेला प्रदर्शनी स्थानीय तह कार्यान्वयनमा आएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग बिकास समिति, सवल परियोजना लगायतको सहकार्यमा सञ्चालन गर्न लागिएको हो ।

जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका विभिन्न ठाउँमा उत्पादन भएका कृषि उपजको प्रचार–प्रसार एवम् प्रतिष्पर्धा गराउँदै उत्कृष्ट कृषि उपज उत्पादन गर्दै आएका कृषकलाई प्रोत्साहित तथा पुरस्कृत गर्नका लागि बृहत कृषि मेला प्रदर्शनीको आयोजना गरिएको कृषक दिवस तथा प्रतियोगीतात्मक कृषि मेला प्रदर्शनी आयोजक समितिका संयोजक गंगाबहादुर विश्वकर्माले बताए ।

दिक्तेलको हेलीप्याडमा सञ्चालन हुने कृषक दिवस तथा प्रतियोगीतात्मक कृषि मेला प्रदर्शनीमा कृषक समुह तथा कृषि फर्ममार्फत उत्पादन गरिएका तरकारी, फलफुल, खाद्यान्न, तेलहन÷दलहन तथा नगदे बाली, माछा, राडीपाखी, खाँडी, आरनमा उत्पादित फलामका उपकरण, बाँसका सामान लगायतका ३० स्टल रहने छ । सुलभ मूल्यमा बिक्री गर्नेगरी स्टलमा कृषि तथा औधोगिक प्रदर्शनी गरिने संयोजक विश्वकर्माले बताए । बिगतदेखि अहिलेसम्मको कृषक दिवस तथा प्रतियोगीतात्मक कृषि मेला प्रदर्शनीलाई हेर्दा सकरात्मक प्रभाव देखिएकोे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए ।