पानी लिफ्ट गर्न सम्भाव्यता अध्ययन

पुस १२ बिहिवार, २०७५
खोटाङ । सुक्खाग्रस्त क्षेत्रका रुपमा रहेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा नदीको लिफ्ट गर्न सम्भाव्यता अध्ययन गरिएको छ । राजापानीमा रहेको पिउने पानीको बिकराल समस्या हल गर्ने उपायको खोजीमा सुनकोसीको पानी लिफ्ट गर्नका लागि सम्भाव्यता अध्ययन गरिएको नगरपालिकाका नगरप्रमुख इवन राईले बताए ।

आर्थिक वर्ष २०७५÷०७६ मा प्रदेशबाट डिप बोरिङका लागि २५ लाख बजेट बिनियोजन भएकामा डिप बोरिङको सम्भावना कम देखिएकाले बिकल्पमा नदीको पानी लिफ्ट गर्नका लागि सम्भाव्यता अध्ययन गरिएको नगरपालिकाले जनाएको छ । पानीको दिर्घकालिन समस्या हल गर्नका लागि सुनकोसी किनारको भाडबेँसीबाट राजापानीको खाम्तेलमा पानी निकाल्नेगरी डिटेल सर्भेको तयारी गरिएको नगरप्रमुख राईले बताए ।

तत्कालका लागि राजापानीको खानेपानीको समस्या हल गर्न स्थानीय हुर्लुङ खानेपानी र ढाँड खानेपानी आयोजनालाई मर्मत सम्भार गरिने नगरपालिकाले जनाएको छ । ११ वडा रहेको नगरपालिकाका अधिकांश वडामा पानीको बिकराल समस्या छ ।