उद्योगका कारण बदामलाई गाउँमै बजार

पुस १२ बिहिवार, २०७५
खोटाङ । गाउँमै प्रशोधन उद्योग स्थापना भएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा उत्पादित बदामले बजार पाएको छ । जापानी नागरिक कोतोबुकीनाकाको एकल लगानीमा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम छापडाँडामा पिनट्स बटर उत्पादक उद्योग स्थापना भएपछि स्थानीय किसानले उत्पादन गर्दैआएको बदामले गाउँमै बजार पाएको हो ।

विपना इनकर्पोरेसन नामक बदाम प्रशोधन उद्योगमा दुर्छिमको चुमाखु, रातमाटे, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा उत्पादित वदाम खपत भइरहेको छ । यसअघि हलेसी, अर्खौले, दिक्तेल, ओखलढुंगा लगायतका बजारमा बिक्री गर्न लगिने गरेको बदाम पिनट्स बटर उत्पादक उद्योग स्थापना भएपछि गाउँमै खपत भइरहेको छ ।

पिनट्स बटर उत्पादनका लागि उद्योगले प्रतिकेजी २५० रुपैयाँ दरले किसानको बदाम खरिद गर्ने गरेको उद्योगका प्रवन्धक बासुदेव राईले बताए । बदामको यो मूल्या स्थानीय बजार मूल्य भन्दा राम्रो मूल्या हो । एक केजीमा करिब साँढे ५ कुरुवा बदाम जान्छ । जवकी स्थानीय बजारमा ८ कुरुवा (एक पाथी) बदाम २ सय रुपैयाँमा किनबेच हुने गरेको छ । जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकामध्ये हलेसी तुवाचुङ नगरपालिकामा मात्र बदाम खेती हुँदैआएको छ ।

२०७४ सालमा स्थापना गरिएको बिपना इनकर्पोरेसनले उत्पादन गरेको पिनट्स बटर हाल काठ्माण्डौंका बिभिन्न ठाउँमा खपत हुने गरेको छ । उद्योगमै प्रतिकेजी १५ सयमा बिक्री हुने पिनट्स बटर काठ्माण्डौंमा कम्तीमा प्रतिकेजी २ हजारका दरले बिक्री हुने गरेको छ । हाल काठ्माण्डौंलाई मात्र बजार बनाएको उद्योगले अन्तर्राष्ट्रिय बजारका लागि इन्टरनेशनल लाइसेन्स लिनका लागि प्रकृया चालेको प्रवन्धक राईले बताए ।

उद्योगका कारण बदामको पकेट क्षेत्रका रुपमा रहेको नगरपालिकाका केही वडामा उत्पादन हुने बदामको बजार समस्या हल भएको वडाध्यक्ष रमेश तिवारीले बताए । गत वर्ष ३ हजार केजी बदाम खपत गरेको उद्योगले यस वर्ष ६ हजार केजी बदाम खरिद गरेको छ । आगामी माघपछि इनर्जी बार पनि उत्पादन गर्ने लक्ष्य राखिएको उद्योगले जनाएको छ । हिमालमा चढ्ने आरोहीले उपयोग गर्ने इनर्जी बार हिमाली क्षेत्रका बजारलाई लक्ष्यीत गरेर उत्पादन गर्ने तयारी गरिएको हो । उद्योगमा हाल स्थानीय ९ जनाले रोजगारीको अवशर पाएका छन् ।
दुर्छिममा यूमी स्कुल सञ्चालनकाक्रममा आईपुगेका जापानी नागरिक कोतोबुकीनाकाले दुई वर्षको अध्ययनपछि बदाम प्रशोधन उद्योग स्थापना गरेका हुन् ।