प्रवृत्तिको पहिलो गीत विमोचन

पुस १२ बिहिवार, २०७५
खोटाङ। भिजन आईडलकी फष्ट रनरअप प्रवृत्ति राईको पहिलो गीत विमोचन गरिएको छ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेकी १६ वर्षीय नवगायिका पवृत्तिको ‘तिम्ले मलाई छाडी जाँदा मेरो के हालत हुन्छ’ बोलको गीत दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राईले विमोचन गरेका हुन् । हलेसी साईनोस्टारको दिप्रुङ चुईचुम्मा गाउँपालिका स्तरिय अडिसनको अवशरमा गाउँपालिका प्रमुख राईले प्रवृत्तिको गीत कम्प्यूटरमा क्लिक’ गरेर बजाएर विमोचन गरेका हुन् ।

२०७५ साउन २ गते ओखलढुंगामा सम्पन्न भिजन आईडल फस्ट रनरअप जितेकी उनको गीत जेरुङ फिल्मको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको केही समयपछि औपचारिक कार्यक्रममार्फत विमोचन गरिएको हो । गीतकार प्रमोद श्रेष्ठको शब्द र भक्त विश्वकर्माको संगीत रहेको गीतमा मायाँ र प्रेममा धोका खाएपछि प्रेमीलाई हुने पिडा भाव समेटिएको छ । संगीतप्रतिकै लगाव र मेहनतका कारण प्रवृत्ति पछिल्लो समय जिल्लामा हुने सांगीतिक कार्यक्रमको स्टेजमा जम्न थालेकी छन् ।

गायिका बनाउने आमाबाबुको सपना पूरा गर्नका लागि प्रवृत्ति हाल सांगीतिक क्षेत्रमा संघर्षरत छिन् । परिवारको सपना पूरा नहुँदै क्यान्सरले आमाको मृत्यु भएपछि विचल्नीमा परेकी प्रवृत्तिलाई साईनो कलाकेन्द्र खोटाङले निःशुल्क संगीत अध्ययन गर्ने अवशर दिलाएको छ । क्यान्सर लागेकी आमाको उपचार असफल भएपछि र परिवार ऋणमा परेपछि निरास बनेकी पवृत्तिलाई साईनो कला केन्द्रले दिक्तेल ल्याएर संगीत सिक्ने अवशर दिएको हो ।