खोटाङमा बृहत कृषि मेला प्रदर्शनी सुरु

पुस १३ शुक्रवार, २०७५
खोटाङ । खोटाङमा दुई दिने बृहत कृषक दिवस तथा प्रतियोगीतात्मक कृषि मेला प्रदर्शनी सुरु भएको छ । जिल्लाका कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्ने उद्धेश्यले दिक्तेलमा शुक्रबारदेखि दशौं कृषक दिवस तथा प्रतियोगीतात्मक कृषि मेला प्रदर्शनी सुरु भएको हो । कृषि व्यवसायको सम्मान र प्रोत्साहनका लागि जिल्लामा बिगत २०६५ सालदेखि सञ्चालन हुँदै आएको बृहत कृषि मेला एबं औधोगिक प्रदर्शनीकै निरन्तरता स्वरुप कृषक दिवस तथा प्रतियोगीतात्मक कृषि मेला प्रदर्शनी आयोजना गरिएको हो ।

जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका विभिन्न ठाउँमा उत्पादन भएका कृषि उपजको प्रचार–प्रसार एवम् प्रतिष्पर्धा गराउँदै उत्कृष्ट कृषि उपज उत्पादन गर्दै आएका कृषकलाई प्रोत्साहित तथा पुरस्कृत गर्नका लागि बृहत कृषि मेला प्रदर्शनीको आयोजना गरिएको कृषक दिवस तथा प्रतियोगीतात्मक कृषि मेला प्रदर्शनी आयोजक समितिका संयोजक गंगाबहादुर बिश्वकर्माले बताए ।

दिक्तेलको हेलीप्याडमा आयोजित कृषक दिवस तथा प्रतियोगीतात्मक कृषि मेला प्रदर्शनीमा कृषक समुह तथा कृषि फर्ममार्फत उत्पादन गरिएका कृषि उपज तथा घरेलु उत्पादनका स्टल राखिएको छ । कृषक दिवस तथा प्रतियोगीतात्मक कृषि मेला प्रदर्शनीको अन्तिम दिन तरकारी, खाद्यान्न, फलफुल लगायतका ७ बिद्याका प्रथम, दोश्रो र तेश्रो हुने २१ जना किसानलाई क्रमशः ४ हजार, ३ हजार र २ हजार पुरस्कार प्रदान गरिने संयोजक बिश्वकर्माले जानकारी दिए ।