खोटाङमा बृहत कृषि मेला प्रर्दशनी सम्पन्न २१ किसान पुरस्कृत

पुस १४ शनिवार, २०७५
खोटाङ । व्यवसायिक रुपमा कृषि पेशा अपनाउँदै आएका खोटाङका २१ किसान पुरस्कृत भएका छन् । दिक्तेलमा शनिबार सम्पन्न बृहत कृषक दिवस तथा प्रतियोगीतात्मक कृषि मेला प्रदर्शनीमा सहभागीमध्ये तरकारी बाली, खाद्यान्न बाली, फलफुल बाली, आलु बाली, माछा, तेलहन÷दलहन÷नगदे बाली र विविध बाली समुहका उत्कृष्ट किसानलाई छनौट गरेर पुरस्कृत गरिएको हो ।

जिल्लाका कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्ने उद्देश्यले आयोजित कृषक दिवस तथा प्रतियोगीतात्मक कृषि मेला प्रदर्शनीमा फलफूलतर्फ याम्खाका रामबहादुर कुँवर प्रथम, बिजयखर्कका जीवराज पोखरेल दोश्रो र बुईपाका सुमन राई तेश्रो, आलुबालीतर्फ खाल्लेका केदार कट्वाल प्रथम, खाल्लेकै उषा राई दोश्रो र दिक्तेलका बिकास आचार्य तेश्रो, खाद्यान्न बालीमा याम्खाका झमक अधिकारी प्रथम, दिक्तेलका अम्बीका आचार्य दोश्रो र सोल्माका यामकुमार श्रेष्ठले तेश्रो पुरस्कार प्राप्त गरेका छन् ।

यस्तै, माछा समुहमा सोल्माका पेशल कार्की प्रथम, नेर्पाका दुर्गाप्रसाद रिजाल तोश्रो र राम बजगाई तेश्रो, तरकारी बाली समुहमा दिक्तेलकी खिनमायाँ आचार्य प्रथम, याम्खाका सुरज कुवँर दोश्रो र बाम्राङका शान्तिनारायण जोशी तेश्रो, दलहन÷तेलहन तथा नगदेबालीतर्फ निर्मलीडाँडाका लिलाप्रसाद आचार्य प्रथम, दिक्तेलका उमेशचन्द्र आचार्य दोश्रो र दिक्तेलकै गोमा आचार्य तेश्रो, विविध समुहमा बुईपाका नन्दप्रसाद घिमिरे प्रथम, बाम्राङका कमल खत्री दोश्रो र पाथेकाका देउकुमार राई तेश्रो भएका छन् ।

अर्गानिक कृषि उपज उत्पादन एबं बजारीकरणका लागि शुक्रबार र शनिबार भएको बृहत कृषक दिवस तथा प्रतियोगीतात्मक कृषि मेला प्रदर्शनीमा प्रथम, दोश्रो र तेश्रो भएका किसानलाई क्रमशः जनही ४ हजार, ३ हजार र २ हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको छ । उत्कृष्ट किसानलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेवी राई लगायतले पुरस्कार हस्तान्तरण गरेका छन् ।

यस्तै, मुला समुहमा खाल्लेका साबित्रा खतिवडा, रायोसाग समुहमा दिक्तेलकी बिन्दाकुमारी आचार्य, फर्सीतर्फ नेर्पाकी कमला अधिकारी, केरातर्फ बुईपाका शारदा घिमिरे, किवीतर्फ जालपाका रमिला बिक, सुर्यमुखीमा खाल्लेका युवराज खतिवडा, तोरीमा दिक्तेलका देवीमायाँ खत्री र लसुनमा सोल्माका दिलबहादुर नेवारलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । उनीहरुलाई प्रोत्साहन स्वरुव जनही नगद एक हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको कृषक दिवस तथा प्रतियोगीतात्मक कृषि मेला प्रदर्शनी आयोजक समितिका संयोजक गंगाबहादुर विश्वकर्माले बताए । ५ हजार राशीको उत्कृष्ट स्टलको पुरस्कार सरस्वती माविका बाली विज्ञानका विद्यार्थीले हात पारेको छ ।

यस्तै, कृषि मेला प्रदर्शनीकै अवशरमा दिक्तेल रुपाकोट नगरपालिकाभित्रका उत्कृष्ट किसानलाई सम्मान गरिएको छ । २०४४ सालदेखि व्यवसायिक रुपमा अदुवा खेती गर्दैआएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ६९ वर्षीय किसान सुरमान राईलाई सम्मान गरिएको हो । नगरपालिकाको बार्षिक कार्यक्रम अनुशार अदुवा किसान राईलाई नगद २५ हजारका साथमा सम्मानपत्र प्रदान गरिएको छ ।

कृषि व्यवसायको सम्मान र प्रोत्साहनकालागि जिल्लामा बिगत २०६५ सालदेखि सञ्चालन हुँदैआएको बृहत कृषि मेला एबं औधोगिक प्रदर्शनीकै निरन्तरता स्वरुप कृषक दिवस तथा प्रतियोगीतात्मक कृषि मेला प्रदर्शनीको आयोजना गरिएको संयोजक विश्वकर्माले बताए । यस अघिसम्म तत्कालिन कृषि विकास कार्यालयको संयोजनमा सञ्चालन हुँदै आएको कृषक दिवस तथा प्रतियोगीतात्मक कृषि मेला प्रदर्शनी स्थानीय तह कार्यान्वयनमा आएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग विकास समिति, सवल परियोजना लगायतको सहकार्यमा सञ्चालन गरिएको हो ।