कृषि उपजको बजारीकरणका लागि सम्झौता

पुस १४ शनिवार, २०७५
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा उत्पादित कृषि उपजको बजारीकरणका लागि नगरपालिका र आर एण्ड डि इनोभेटिभ सोलुसन प्रालीबीचमा सम्झौता भएको छ । उत्पादन भए पनि बजार नपाउँदा खेर जाने गरेका इस्कुस, आलु, गुन्द्रुक, पिँडालु, केराउ लगायतका कृषि उपजको बजार ग्यारेन्टीका लागि नगरपालिका र आर एण्ड डि इनोभेटिभ सोलुसन प्रालीबीचमा शनिबार ६ बुँदे सम्झौता भएको नगरप्रमुख दिपनारायण रिजालले बताए ।

सहमतीपत्रमा प्रालिले कृषि उपज सम्बन्धी कच्चा पदार्थको उत्पादन, प्रशोधन, प्याकेजिङ, ब्राण्डिङ र बजारीकरणका लागि प्राविधिक, विशेषज्ञ सेवा सशुल्क उपलव्ध गराउने र कृषि सामग्रीको बजारीकरणमा सहयोग गर्ने, नगरपालिकाले कृषि क्षेत्रसँग सम्बन्धित कार्यक्रम कार्यन्वयनकाक्रममा किसानलाई चाहिने सेवा, तालिम, प्रविधि, श्रोत–साधनदेखि लगानी उपलव्ध गराउने लगायतका सम्झौता भएको छ ।

सम्झौताले नगरपालिकाका किसानले उत्पादन गरेका कृषि उपजका लागि बजारको समस्या हल हुने बाटो खुलाएको खोटाङ चेम्बर्स अफ कमर्सका अध्यक्ष खुसनारायण सैंजूले बताए ।