खोटाङमा जबरजस्ती बलात्कारका घट्ना भयवह

पुस १७ मंगलवार, २०७५
खोटाङ । खोटाङमा जबरजस्ती बलात्कारका घट्ना भयवह रहेको तथ्यांक सार्वजनिक गरिएको छ । सोमबार दिक्तेलमा आयोजित जिल्ला प्रहरी कार्यालय खोटाङको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रहरी नायव उपरिक्षक राजकुमार केसीले चार महिनाको अवधिमै महिला तथा बालिका बलात्कार र बलात्कार प्रयासका १७ वटा घट्ना घटेको जानकारी दिए। गत साउन १ गतेदेखि हालसम्मको अवधिमा बालयौन दुरुपयोगका १ वटा मुद्धा दर्ता भएको छ । बलात्कार र बलात्कार प्रयासका जम्मा घट्नामध्ये १५ घट्ना आफन्त तथा चिनजानबाटै भएको प्रनाउ केसीले बताए ।

यस्तै, जिल्लामा चार महिनाको अवधिमा सबैभन्दा बढि आत्महत्याका घट्ना घटेको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७५÷०७६ लागेयता झुण्डिएर आत्महत्या गरेका १६ वटा र बिष सेवनबाट ११ वटा घटना घटेको प्रहरीले तथ्यांक सार्वजनिक गरेको छ । त्यसमध्ये आत्महत्या दुरुतसाहनका २ वटा मुद्धा चलाइएको छ । यस अवधिमा ज्यान मार्ने उद्योगका ७ वटा, चोरीका २ वटा, ठगीका १ वटा, बहुबिवाहका २ वटा, हातहतियार खरखजनाका १ वटा घटना घटेको प्रनाउ केसीले जानकारी दिए ।

यस्तै, बिभिन्न मुद्धामा दोषी ठहर भएपनि फरार रहेका २४५ जनामध्ये ३४ जना अभियुक्त पक्राउ भएका छन् । उनीहरुबाट १४ लाख ५५ हजार ९१४ रुपैयाँ जरिवाना रकम अशुल भएको र १३५ वर्ष ४ महिना कैंद भुक्तान भएको प्रनाउ केसीले जानकारी दिए ।

कार्यक्रममा सहभागीले दुई वर्षअघि हत्या गरिएकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्मा र जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीय देवी बिकको हत्यामा संलग्न दोषी पत्ता लगाउन प्रहरी र प्रशासनको ध्यानाकर्ष गराएका छन् । प्रहरी सेवालाई थप प्रभावकारी बनाउनका लागि सार्वजनिक सुनुवाई गरिएको प्रनाउ केसीले बताए ।