पैसा झिकेर भागेका दुई बालक अभिभाबकको जिम्मामा

पुस १९ बिहिवार, २०७५
खोटाङ । घरको पैसा झिकेर भागेका दुई बालकलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ । घरमा झोलामा राखेको पैसा लिएर बुधबार भागेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका १२/१२ वर्षका दुई बालकलाई नियन्त्रणमा लिएर प्रहरीले अभिभावकको जिम्मा लगाएको हो ।

एक जना बाबुको झोलामा राखिएको नगद २४ हजार ५ सय रुपैयाँ झिकेर घरबाट हिँडेका दुई बालकलाई बिहिबार दिक्तेलमा फेला पारेर आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले बताए ।

घरको पैसा झिकेर भागेका दुई बालकले एक÷एक वटा मोबाईल सेट, एनसेल नम्बर, एनसेलको रिचार्जकार्ड किनेको अवस्थामा प्रहरीले दोश्रो दिन दिक्तेलमा फेला पारेको हो । पैसा र लगाउने लुगाफाटा लिएर भागेका बालकको खोजीका लागि अभिभाबकले बुधबार साँझ प्रहरीलाई खबर गरेका थिए ।

बुधबार होटल भिलेजमा बास बसेका दुई बालकले बिहिबार दिक्तेलस्थित सर्मिला इलेक्ट्रोनिक्सबाट मोलाईल, एनसेल सिम र रिचार्जकार्ड निकालेको खुलेको छ । तथ्यांक नराखी बीना कागजात बालकलाई सिमकार्ड बिक्री गरेकामा जिल्ला प्रहरी कार्यालयले एनसेल कम्पनीलाई कारबाहीका लागि पत्राचार गरेको जनाएको छ ।