प्रादेशिक विश्वविद्यालय स्थापनाका लागि सुझाव संकलन गर्दै कार्यदल

पुस १९ बिहिवार, २०७५
खोटाङ । प्रादेशिक विश्वविद्यालय स्थापनाका लागि ओखलढुंगामा सुझाव संकलन गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ अन्तरगत प्रादेशिक विश्वविद्यालय सम्भाव्यता अध्ययन कार्यदलले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका क्याम्पसका प्रमुख, प्राध्यपक, क्याम्पस सञ्चालक समितिका अध्यक्ष, विद्यार्थी लगायतको भेला गरेर प्रादेशिक विश्वविद्यालय स्थापनाको सम्भावनाका बिषयमा अन्तरक्रिया गर्दै सुझाव संकलन गरेको हो ।

राज्यको पुःर्नसंरचनासँगै प्रदेशस्तरिय विश्वविद्यालय स्थापनाका लागि आवश्यक सुझाव संकलन गर्न प्रदेशका विभिन्न जिल्लामा कार्यक्रम राखिएको कार्यदलका सदस्य डा. देबी क्षेत्रीले बताए । ‘प्रादेशिक विश्वविद्यालय स्थापनाको सम्भाव्यता लागि ईलाम र ओखलढुंगामा सुझाव संकलन गरिसक्यौँ, अव ईटहरी र धनकुटामा पुगेर सुझाव संकलन गरिन्छ,’ सदस्य क्षेत्रीले भने, ‘विभिन्न ठाउँमा गरिएको छलफल तथा अन्तरक्रियाबाट प्राप्त भएको सुझावलाई कम्पायल गरेर माघ २५ गतेभित्र प्रदेश सरकारलाई बुझाउने गरी काम गरिरहेका छौँ ।’

बुधबार जिसस ओखलढुंगाको सभाहलमा भएको कार्यक्रममा सहभागी प्रदेशसभा तथा स्थानीय तहका जनप्रतिनिधि, क्याम्पस प्रमुख, प्राध्यपक, क्याम्पस सञ्चालक समितिका अध्यक्ष, विद्यार्थी लगायतले हालको त्रिविकै संरचना अनुसार प्रादेशिक विश्वविद्यालयको संरचना निर्माण गर्न, प्रदेश विश्वविद्यालय साधारण, प्राविधिक र खुला बिषय समेट्न, प्राविधिक बिषयलाई बढि प्राथमिकता दिने शैक्षिक संरचना तयार गर्न, प्राज्ञिक क्षेत्रलाई राजनैतिकमुक्त र संगठनरहित बनाउन, सघन विश्वविद्यालयको अवधारणा अनुसार पठन–पाठनको व्यवस्था हुनेगरी प्रदेश विश्वविद्यालय स्थापनाको सम्भावना रहेको सुझाव दिएका छन् ।

प्रदेश विश्वविद्यालय सञ्चालनका लागि श्रोत जुटाउन, स्वच्छ शैक्षिक वातावरण बनाउन र नीति निर्माणकाक्रममा प्रदेश सरकार र स्थानीय सरकारबीचमा सहकार्य हुनुपर्ने, हस्तक्षेपको नीति अवलम्बन गरिनुपर्ने सुझाव दिइएको छ । तीन जिल्लाका सहभागीले सुनसरीको इटहरी, खोटाङको दिक्तेल वा ओखलढुंगाको रुम्जटारमा प्रादेशिक विश्वविद्यालय स्थापनाका लागि उपयुक्त हुने धारणा राखेका छन् ।

प्रादेशिक बिश्वबिद्यालय स्थापनाको सम्भाव्यता बारे सुझाव दिन खोटाङबाट दिक्तेल बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष देबी रिजाल, क्याम्पस प्रमुख हिराकुमार राई, साकेला क्याम्पसका प्रमुख शिबेन्द्र राई, रावा क्याम्पस खार्पाका प्रमुख दिपक पोखरेल, हलेसी क्याम्पसका चक्र राई लगायत ओखलढुंगा पुगेका थिए ।