दिक्तेलबजारलाई सफा र सुन्दर बनाउन ३० बुँदे प्रतिवद्धता

खोटाङ । खोटाङको दिक्तेलबजारलाई सफा र सुन्दर बनाउने लक्ष्य पुरा गर्नका लागि सामुहिक प्रतिवद्धता जनाइएको छ । ‘सफा, स्वच्छ र सुन्दर’ नगरपालिका निर्माणका लागि दिक्तेलबजारका स्थानीयबासी, जनप्रतिनिधि, टोल विकास संस्था, दिक्तेलबजार सामाजिक गुठी, उद्योग वाणिज्य संघ, यातायात प्रालि लगायतका प्रमुख तथा प्रतिनिधिले फोहोर व्यवस्थापन सम्बन्धी ३० बुँदे दीर्घकालिन रणनीतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

दिक्तेलबजारको फोहोर व्यवस्थापनका लागि पटक–पटक गरिएको प्रयास पूर्ण नभएपछि नगरपालिकाको पहलमा बजारका स्थानीयबासी एबं संघसंस्थाका प्रमुख तथा प्रतिनिधिबाट सरसफाई र फोहोरमैला व्यवस्थापनका लागि प्रतिवद्धता जुटाइएको नगरप्रमुख दिपनारायण रिजाल बताए ।

दीर्घकालिन रणनीतिपत्रमा आफ्नो सरसफाई आफै गर्ने र अरुलाई पनि सरसफाई गर्नका लागि उत्प्रेरित गर्ने, बालबालिकालाई स्वास्थ्य र सरसफाई सम्बन्धी नैतिक शिक्षा दिने, फोहोरलाई पुःनप्रयोग र नविकरण गरेर प्रयोग गर्ने संस्कारको विकास गरी फोहोरलाई मोहरमा परिणत गर्न उत्प्रेरित गर्ने, कुहिने र सडिने फोहोरलाई करेसाबारीमा मलकारुपमा प्रयोग गर्ने, खाद्य सामग्रीमा हुने मिसावट नियन्त्रण गर्ने, मापदण्ड विपरित घरटहरा लगायतका भौतिक संरचना निर्माण नगर्ने लगायतका बुँदा उल्लेख छ ।

यस्तै, घरबाट निस्कने कुहिने र नकुहिने तथा पुःनप्रयोग गर्न सकिने र नसकिने फोहोरलाई छुट्याएर राख्ने, कुनै पनि प्रदूषण नगरी नगर, समुदाय र व्यक्तिको स्वास्थ्यमा प्रतिकूल अशर गर्ने काम नगर्ने, बर तथा जीपलाई पार्किङस्थलमा मात्र राख्ने प्रतिबद्धता गरिएको छ । प्रतिबद्धता–पत्रमा दिक्तेलका रत्नपार्क–बेसक्याम्प, शान्ति–सल्लेरी टोल, भवनगैरा–त्रिबेणीचोक, हस्पस्पीटल–पोखरी टोल, अम्बागाछी, हाटडाँडा टोलमा हप्तामा कम्तीमा एक दिन ट्याक्टरमार्फत फोहोर संकलन गर्ने उल्लेख छ ।