प्रजातान्त्रिक योद्धा रामप्रसाद राई स्मृति पार्क निर्माण गरिँदै

पुस २० शुक्रवार, २०७५
खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राई स्मृति पार्क निर्माणका विषयमा अन्तरक्रिया गरिएको छ । रामप्रसाद राई स्मृति पार्कका लागि प्रदेशसभा सदस्य रामकुमार राईको पहलमा प्रदेशबाट २० लाख र खोटेहाङ गाउँपालिकाबाट १० लाख बजेट विनियोजन भएपछि किरात राई विद्यार्थी संघ केन्द्रीय समितिले खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराईसँग अन्तरक्रिया गरेको हो ।

काठ्माण्डौंमा भएको अन्तरक्रियामा संघकी निवर्तमान अध्यक्ष विर्सिका राईले किरात राई विद्यार्थी संघले निर्माण सुरु गरेको रामप्रसाद राई स्मृति पार्कको हालसम्मको प्रगतीका बिषयमा जानकारी गराएकी छन् ।

तत्कालिन राणा शासन कालमा सेनाको लेफ्टीनेन्ट रहेका राईको नेतृत्वमा खोटाङबजारमा निर्माण गरिएको टुँडीखेल तथा २००५ सालमा रोपेको समीको रुख संरक्षणका लागि शालिक सहितको स्मृति पार्क निर्माणको काम थालिएको हो । सरकारले जननायक राईको तस्बिर अंकित हुलाक टिकट पुस १५ गते प्रकाशन गरिसकेको छ ।

ब्रिटिस सेनाको जागीर छाडेर नेपाली सेनामा भर्ती भएपछि तत्कालिन राणा सरकारले उनको कमाण्डमा खोटाङवजारमा सेना खटाएपछि उनले टुँडीखेल निर्माण गर्नुका साथै समीको रुख रोपेका थिए ।

टुँडीखेलमा ओछ्याइएका बालुवा उनकै पहलमा स्थानीय सावा खोला र खि खोलाबाट ल्याइएर राखिएका हुन् । इतिहास बोकेको भए पनि बेखवर बनेको समीको रुख तथा टुँडीखेलको संरक्षणका लागि संघको अगुवाईमा शालिक सहितको स्मृतिपार्क निर्माणको काम थालिएको संघका निवर्तमान उपाध्यक्ष जितेन राईले बताए ।