अन्तरमावि स्तरिय छात्र फुटबल प्रतियोगीता सुरु

पुस २० शुक्रवार, २०७५
खोटाङ । खोटाङमा दोश्रो अन्तरमावि स्तरिय छात्र फुटबल प्रतियोगीता सुरु भएको छ । फुटबल खेलमा सम्भाबना बोकेका प्रतिभाको पहिचान गर्दै व्यवसायिक खेलाडी उत्पादन गर्ने लक्ष्यकासाथ खोटाङ फुटबल एकेडेमीको आयोजनामा शुक्रबारदेखि अन्तरमावि स्तरिय छात्र फुटबल प्रतियोगीता सुरु भएको हो ।

दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजित प्रतियोगीता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले उद्घाटन गरेका हुन् । शुक्रबार भएको चार वटा खेलमध्ये चम्पावती मावि बुईपालाई शुन्य का विरुद्ध १ गोल गर्दै ज्योती मावि जालपा र सावित्रा मावि बाम्राङलाई १ का विरुद्ध ३ गोल गर्दै विद्योद्धय मावि दोर्पाचिउरीडाँडाले आफ्नो स्थान सुरक्षित गरेको छ ।

यस्तै, हिलसाईड स्याम्पल एकेडेमी दिक्तेललाई शुन्यका विरुद्ध १ गोल गर्दै सरस्वती मावि दिक्तेल र कृष्ण मावि टेम्मालाई शुन्यका बिरुद्ध ६ गोल गर्दै कालिका मावि नेर्पाले आगामी प्रतियोगीताका लागि आफ्नो स्थान सुरक्षित गरेको छ । शनिबार बिहान ७ बजेपछि दिक्तेल इंलिस बोर्डिङ स्कुल दिक्तेल र कालिका मावि खार्मीबीचमा पहिलो खेल हुने आयोजकले जनाएको छ ।

पुस २५ गतेसम्म सञ्चालन हुने प्रतियोगीतामा प्रथम र दोश्रो स्थान प्राप्त गर्ने टिमलाई क्रमशः १५ हजार र १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक खोटाङ फुटबल एकेडेमीका अध्यक्ष नूरकाजी सैंजूले बताए । प्रतियोगीतामा जिल्लाका १८ माबिका १८ टिमको सहभागीता रहेको छ ।

प्रतियोगीताका उत्कृष्ट ६ छात्रलाई नभप्रभात माबि काठ्माण्डौंले कक्षा ११ र १२ तथा उत्कृष्ट ५ खेलाडीलाई प्रिमियर कलेज बानेश्वरले कक्षा ११ र १२ अध्ययनका लागि पूर्ण छात्रवृत्तिको अवशर प्रदान गर्ने अध्यक्ष सैंजूले बताए ।

उत्कृष्ट ११ खेलाडीलाई अखिल नेपाल फुटबल संघ एन्फाको उमेर समुह राष्ट्रिय खेलाडी छनौट प्रकृयामा सहभागी गराइने आयोजकले जनाएको छ ।