तिलुङ भाषा पुस्तान्तरणका लागि च्यास्मीटारमा भाषा कक्षा सुरु

पुस २२ आइतवार, २०७५
खोटाङ । लोपोन्मुख बन्दै गएको तिलुङ राई भाषाको संरक्षण र संवद्र्धनका लागि खोटाङको च्यास्मीटारमा भाषा कक्षा सुरु गरिएको छ । बुढापाकाको अन्त्यसँगै लोपोन्मुख वनेको तिलुङ राई भाषा एबं संस्कार संस्कृतिको पुस्तान्तरण गर्दै जगेर्नाका लागि हलेसी तुवाचुङ नगरपालिकासँगको सहकार्यमा भाषा आयोगले तीन महिने भाषा कक्षा सुरु गरेको हो ।

तिलुङ भाषावक्ता तथा संस्कार संस्कृति जानकार बुढापाकालाई भेला गरेर तिलुङ राई समुदायका २० स्थानीयलाई सहभागी गराएर हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित पिपलटार आधारभूत विद्यालयमा भाषा कक्षा सुरु गरिएको हो । तिलुङ राई भाषा तथा संस्कार पुस्तान्तरणका लागि सुरु गरिएको कक्षा नगरका उपमेयर बिमला राईले उद्घाटन गरेकी हुन् ।

पुस १९ गतेदेखि सुरु भाषा कक्षामा १० जना तिलुङ राई भाषा तथा संस्कार संस्कृति जानकार बुढापाकालाई श्रोतव्यक्तिका रुपमा राखिएको छ । हाल सिमित व्यक्तीले मात्र बोल्दै आएको तिलुङ भाषा अन्य स्थानीयलाई पनि बोल्न सक्ने दक्षता बिकासका लागि भाषा प्रशिक्षणको आयोजना गरिएको हो । भाषा कक्षा ९० घण्टाको हुने जनाइएको छ ।

खोटाङ र उदयपुरका विभिन्न गाविसमा वसोबास गर्ने राई मध्ये कम जनसंख्या भएको जाती हो तिलुङ । राम्ररी तिलुङ भाषा बोल्न जान्ने केही बुढापाकाहरु खोटाङको च्यास्मीटार र उदयपुरका केही गाउँमा मात्र बाँकी छन् । गाउँमा थोरबहुत तिलुङ भाषा बोल्नेहरु भएपनि उनीहरुलाई पुरै भाषा बोल्न आउँदैन ।

खोटाङको च्यास्मीटार, दुर्छिम, राजापानी, धितुङ, बाहुनीडाँडा, डिकुवा तथा उदयपुरको लेखगाउँ, बाँसबोटे, रिस्कु, रुपटार, ठानागाउँ, तावाश्री, ओखलढुंगाको सल्ले, सिराहाको मुक्सार, झापा, इलाम, सुनसरी, धादिङ, काठमाडौंलगायतका ठाउँमा तिलुङ राईको वसोबास छ ।

आफ्नो भाषा हराउन लागेको भन्दै तिलुङ राई युवाहरुको भेलाले वर्ष दिनअघि हिमालसेर राईको संयोजकत्वमा तिलुङ राई भाषा तथा संस्कृति उत्थान समिति गठन गरेको थियो । लोपोन्मुख तिलुङ भाषाको संरक्षणका लागि केही वर्षअघि बोलीचालीको शव्दार्थ संकलन एबं वाक्यांश निर्माण र वर्ण पहिचान तथा निर्धारणका काम गरिसकिएको छ ।

२०६८ सालको जनगणना अनुशार तिलुङको जनसंख्या १ हजार ४ सय २४ रहेको छ । खोटाङमा मात्र ५०२ तिलुङ राईको वसोबास रहेको अनुमान गरिएको छ । यद्यपि, विभिन्न जिल्लामा गरी ५ हजारको हाराहारीमा तिलुङ राई रहेको तिलुङ राई वुगाकिमले दाबी गरेको छ ।