स्वास्थ्य मन्त्रालयको घुम्ती स्वास्थ्य शिविर सुरु

पुस २४ मंगलवार, २०७५
खोटाङ । स्वास्थ्य मन्त्रालयले खोटाङका विभिन्न स्थानमा स्वास्थ्य शिविर सुरु गरेको छ । स्वास्थ्य समस्या भएपनि सुविधा सम्पन्न अस्पतालमा पुगेर उपचार गर्नबाट बञ्चित सर्वसाधारणलाई लक्ष्यीत गर्दै मन्त्रालयले जिल्लाका ९ स्थानमा सञ्चालन हुनेगरी जालपाबाट विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य शिविर सुरु गरेको हो । शिबिरको पहिलो दिन सोमबार जालपामा आयोजित स्वास्थ्य शिविरमा ५१० सर्बसाधारणले स्वास्थ्य सेवा लिएका छन् ।

स्वास्थ्य शिविरमा स्त्री रोग, दाँत, आँखा, भिडियो एक्स–रे तथा स्तन क्यान्सर र जनरल (हाडजोर्नी, नशा, बाथ, दम, बाल रोग, छालाजन्य रोग) सम्बन्धी विशेषज्ञ सेवाको व्यवस्था मिलाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोसाईटी फर इमरजेन्सी केयर एण्ड सपोर्ट नेपालसँगको सहकार्यमा निशुल्क स्वास्थ्य शिबिर सुरु गरेको हो ।
पहिलो चरणमा जालपाबाट सुरु गरिएको शिबिर पुस ३० गतेसम्म बाक्सिला, ऐसेलुखर्क र हलेसीमा सञ्चालन हुने छन् । दोश्रो चरणको स्वास्थ्य शिबिर माघ १४ गतेदेखि २० गतेसम्म मात्तिम मानेभञ्ज्याङ, ओख्रेडाँडागाउँ, सिम्पानी, खोटाङबजार र चिसापानीमा सञ्चालन हुने सोसाईटी फर इमरजेन्सी केयर एण्ड सपोर्ट नेपालले जनाएको छ ।

स्वास्थ्य मन्त्रीका प्रमुख सल्लाहकार डा. केके राईको नेतृत्वमा आएका बीर अस्पताल, ग्राण्डी अस्पताल र त्रिपुरेश्वर आँखा अस्पतालका ९ जना विशेषज्ञ डाक्टर, स्वास्थ्य प्राविधिक विशेषज्ञको टोली स्वास्थ्य शिविरमा स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । बुधबार बाक्सिलामा शिविर सञ्चालन हुने आयोजकले जनाएको छ ।