विद्युत महसुलका लागि घुम्ती काउण्टर

पुस २४ मंगलवार, २०७५
खोटाङ । विद्युत महसुल संकलनका लागि नेपाल विद्युत प्राधिकरणले खोटाङको खोटेहाङ गाउँपालिकामा घुम्ती काउण्टर सुरु गरेको छ । एक दिनदेखि दुई दिन लगाएर विद्युत महसुल बुझाउन साबिकको सदरमुकाम दिक्तेल आउन बाध्य उपभोक्ताको हितलाई ध्यानमा राखेर प्राधिकरणले खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा घुम्ती काउण्टर सेवा सुरु गरेको हो ।

गत कार्तिकदेखि हलेसी तुवाचुङ नगरपालिकाको हलेसीमा घुम्ती काउण्टर सुरु गरेको नेपाल विद्युत प्राधिकरणको दिक्तेल वितरण केन्द्रले थप खोटाङबजारमा घुम्ती काउण्टर विस्तार गरेको जनाएको छ ।
नजिकै घुम्ती काउण्टर सेवा सुरु भएपछि महसुलभन्दा बढि खर्च गरेर महसुल बुझाउन बाध्य स्थानीय लाभान्वित भएका छन् । खोटाङबजारबाट हरेक महिलाको २३, २४ र २५ गतेका दिन कर्मचारी खटाएर विद्युत महसुल संकलनका लागि घुम्ती काउण्टर सञ्चालन सुरु गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।