अन्तरमावि स्तरिय छात्र फुटबलमा कालिका मावि च्याम्पियन

 

पुस २४ मंगलवार, २०७५
खोटाङ । खोटाङमा आयोजित दोश्रो अन्तरमावि स्तरिय छात्र फुटबल प्रतियोगीताको उपाधि कालिका मावि नेर्पाले जितेको छ । दिक्तेलको माटिकोरे खेलमैदानमा गत शुक्रबारदेखि जारी प्रतियोगीतामा माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेललाई २ का विरुद्ध ३ गोल गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माविले प्रथम स्थान प्राप्त गरेको हो ।

अन्तरमावि स्तरिय छात्र फुटबल प्रतियोगीताको दोश्रो संस्करणमा प्रथम र दोश्रो स्थान प्राप्त गर्ने टिमलाई क्रमशः १५ हजार र १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । बिजेता टिमलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल लगायतले पुरस्कार हस्तान्तरण गरेका छन् ।

फुटबल खेलमा सम्भाबना बोकेका प्रतिभाको पहिचान गर्दै व्यवसायीक खेलाडी उत्पादन गर्ने लक्ष्यकासाथ खोटाङ फुटबल एकेडेमीको आयोजनामा गत वर्षदेखि अन्तरमाबि स्तरिय छात्र फुटबल प्रतियोगीता सञ्चालन हुँदैआएको छ । प्रतियोगीतामा जिल्लाका १८ माबिका १८ टिमको सहभागीता रहेको आयोजक खोटाङ फुटबल एकेडेमीका अध्यक्ष नूरकाजी सैंजूले बताए ।

प्रतियोगीताका उत्कृष्ट ६ छात्रलाई नभप्रभात माबि काठ्माण्डौंले कक्षा ११ र १२ तथा उत्कृष्ट ५ खेलाडीलाई प्रिमियर कलेज बानेश्वरले कक्षा ११ र १२ अध्ययनका लागि पूर्ण छात्रबृत्तिको अवशर प्रदान गर्ने आयोजकले जनाएको छ । उत्कृष्ट ११ खेलाडीलाई अखिल नेपाल फुटबल संघ एन्फाको उमेर समुह राष्ट्रिय खेलाडी छनौट प्रकृयामा सहभागी गराइने अध्यक्ष सैंजूले जनाए ।