नदी तथा खोलाबाट गिटी, बालुवा उत्खननमा कडाई

२४ मंगलवार, २०७५
खोटाङ । जिल्ला समन्वय समिति खोटाङले वातावरणीय प्रभावकारी मूल्यांकन (आइईई) नगरी नदी तथा खोलाबाट ढुंगा, गिटी, बालुवा लगायतका निर्माण सामग्री उत्खनन गर्न रोक लगाउने निर्णय गरेको छ । स्थानीय नदी तथा खोलाबाट जथाभावी तरिकाले ढुंगा, गिटी, बालुवा लगायतका नदी तथा खोलाजन्य पदार्थ निकाल्ने काम भइरहेको भन्दै जिल्ला समन्वय समितिका संयोजक ववि चाम्लिङको संयोजकत्वमा बनेको अनुगमन समन्वय समितिले आइईई नगरी स्थानीय नदी तथा खोलाबाट निर्माण सामग्री निकाल्न रोक लगाउने निर्णय गरेको हो ।

नदी तथा खोलाबाट ढुंगा, गिटी, बालुवा लगायतका पदार्थ चोरी निकासी भइरहेको र मनपरी ढंगले उत्खनन गर्दा वातावरणीय अशर पुगेको र पाइएकाले आइईई गरेर मात्र निर्माण सामग्री निकाल्ने व्यवस्था मिलाउनका लागि जिल्लाका दश वटै स्थानीय तहलाई सूचना गरिएको समन्वय समितिका प्रमुख चाम्लिङले बताए ।

समितिले निजी भएपनि व्यवसायिक प्रयोजनका लागि उत्खनन गर्दा समेत आईई गरेर मात्र नदी जथा खोलाजन्य पदार्थको उत्खनन, संकलन र बिक्री गर्ने व्यवस्था मिलाउन भनेको छ । आफ्नो सूचनालाई बेवास्ता गर्दै ढुंगा, गिटी, बालुवा लगायतका नदी तथा खोलाजन्य पदार्थ निकाल्ने काम भए कारबाही प्रकृया अघि बढाइने अनुगमन समन्वय समितिले जनाएको छ ।