हलेसी तुवाचुङ नगरपालिकामा अत्याधुनिक बसपार्क निर्माणका लागि निशुल्क जग्गा प्राप्त

पुस २५ बुधवार, २०७५
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा अत्याधुनिक बसपार्क निर्माणका लागि निशुल्क जग्गा प्राप्त भएको छ । हलेसी तुवाचुङ नगरपालिका”वडा नम्बर ७ हलेसी महादेवस्थानमा बसपार्क निर्माणका लागि स्थानीय पाँच समाजसेवीले प्रति रोपनी ४० लाख पर्ने ८ रोपनी जग्गा बसपार्क निर्माणका लागि निशुल्क दिएका हुन् ।

नगरपालिकामा अत्याधुनिक बसपार्क निर्माण गर्नका लागि स्थानीय प्रकाशचन्द्र गिरीले ३ रोपनी ८ आना, प्रेमकुमारी गिरीले २ रोपनी, जीतबहादुर वस्नेतले २ रोपनी, थीरकुमार बस्नेतले ४ आना र तीर्थकुमार बस्नेतले ४ आना बराबरको निशुल्क जग्गा नगरपालिकालाई बुधबार जिल्ला मालपोत कार्यालयमा आएर पास गरिदिएको नगरपालिकाका खरिदार ज्ञानदिप कार्कीले जानकारी दिए ।

समाजसेवी प्रकाशचन्द्र गिरीले यसअघि सोही स्थानमा स्वास्थ्य चौकी भवन निर्माणका लागि पनि १ रोपनी जग्गा निशुल्क दिएका थिए । बसपार्क निर्माणका लागि आर्थिक वर्ष २०७५/०७६ मा सहरी विकास मन्त्रालयबाट ३ करोड बजेट स्वीकृत भए लगत्तै नगरपालिकाले आवश्यक जग्गा निशुल्क जुटाउनका लागि पहल थालेको थियोे ।

दर्शनार्थीको बाक्लो भीड लाग्ने त्रिधार्मिकस्थल हलेसीमा सुविधा सम्पन्न बसपार्क निर्माणका लागि सहरी विकास मन्त्रालयले बजेट स्वीकृत गरेर कार्यान्वयनका लागि विभाग संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरलाई पठाएको छ । नगरपालिकाको पहलमा बसपार्क निर्माणका लागि बजेट विनियोजन भएपछि हलेसीमा सवारी साधन पार्किङस्थलको समस्या हल हुनेमा नगरबासी आशावादी देखिएका छन् ।

हलेसी आसपासमा कार्यालय सञ्चालनका लागि भवन, आवास, कर्मचारी, यात्रु प्रतिक्षालय, शौचालय, धारा, बावरुम, चमेनागृह, डिजिटललाईट लगायतका संरचना भएको बसपार्क निर्माण गरिने नगरप्रमुख इवन राईले बताए । जिल्ला भित्रिने र बाहिरिने बाटोमा पर्ने हलेसीमा हालसम्म पार्किङको समस्या छ । सवारीसाधनको दैनिक बाक्लो चाप लाग्ने हलेसीमा हाल नगरपालिकाले भाडामा जग्गा लिएर अस्थायी बसपार्कको व्यवस्था गर्दै आएको छ ।