हलेसी साईनो स्टारका लागि नौ स्थानीय तहबाट ८१ प्रतिष्पर्धी

पुस २५ बुधवार, २०७५
खोटाङ । खोटाङमा जारी हलेसी साईनो स्टारका लागि ९ स्थानीय तहबाट गायनका ८१ जना प्रतियोगी छानिएका छन् । जिल्लाका दश स्थानीय तहमध्ये साकेला गाउँपालिकाबाट १० जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाबाट ८ जना, खोटेहाङ गाउँपालिकाबाट ९ जना, बराहपोखरी गाउँपालिकाबाट १२ जना, जन्तेढुंगा गाउँपालिकाबाट ७ जना, हलेसी तुवाचुङ नगरपालिकाबाट ११ जना, रावाबेँसी गाउँपालिकाबाट ५ जना, ऐसेलुखर्क गाउँपालिकाबाट १३ जना र केपीलासगढी गाउँपालिकाबाट ६ जना प्रतियोगी छानिएका हुन् ।

गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभाको पहिचान र संवद्र्धन गर्दै गीत संगीतको व्यवसायिक विकासका लागि साईनो कला केन्द्र खोटाङ र हलेसी टाइम्स दैनिकको सहकार्यमा पुस ९ गतेदेखि साकेला गाउँपालिकाबाट हलेसी साईनो स्टार–२०७५ को पालिका स्तरिय प्रथम अडिसन सुरु गरिएको थियो । दश स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल र बुईपामा पालिका स्तरिय प्रथम अडिसन बाँकी रहेको साईनो कला केन्द्रका अध्यक्ष प्रमोद श्रेष्ठले बताए ।

दुई नगरपालिका र आठ गाउँपालिकाका ११ स्थानमा सञ्चालन हुने पालिका स्तरिय प्रथम अडिसनबाट छानिएका ११० प्रतियोगीलाई जिल्ला अडिसनमा प्रतिष्पर्धा गराउँदै हलेसी साईनो स्टारको टुंगो लगाइने साईनो कला केन्द्रले जनाएको छ । प्रथम अडिसनबाट छानिएका प्रतिष्पर्धीलाई ७ चरणमा सञ्चालन हुने जिल्ला स्तरिय अडिसनमा प्रतिष्पर्धा गराएर उत्कृष्ट दशमा पुगेका प्रतियोगीबाटै फाईनल अडिसन सञ्चालन गरेर विजेता छनौट गरिने अध्यक्ष श्रेष्ठले जनाए ।

पालिका र जिल्लास्तर गरी ८ अडिसनमा सम्पन्न हुने गायन प्रतियोगीताको प्रथम हुने स्वरका प्रतिभाले नगद ५५ हजार ५५५ रुपैयाँका साथमा गीत रेकर्डिङ, एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवशरका साथमा प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् ।

यस्तै, दोश्रो हुने प्रतिभालाई नगद ३० हजारका साथमा एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवशरकासाथमा प्रमाणपत्र र ट्रफी तथा तेश्रो हुने प्रतिभालाई नगद १५ हजार ५५५ रुपैयाँका साथमा एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवशरका साथमा प्रमाणपत्र र ट्रफी प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए । ‘अझै पनि कुना कन्दरामा लोभलाग्दा प्रतिभाहरु ओझेलमै छन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘अवशर खोजीरहेका तिनै प्रतिभालाई पहिचान गरेर व्यवसायीकरुपमा गीत संगीतमा लाग्ने वाताबरण निर्माणका लागि हलेसी साईनो स्टारको परिकल्पना गरिएको हो ।’