स्वास्थ्य घुम्ती शिविरवाट पाँच सयभन्दा बढि सर्वसाधारण लाभान्वित

पुस २६ बिहिवार, २०७५
उदयपुर । खोटाङको वाक्सिलामा आयोजित निःशुल्क स्वास्थ्य घुम्ती शिविरमा पाँच सयभन्दा बढि सर्वसाधारणले सेवा लिएका छन् । स्वास्थ्य मन्त्रालय उपचारात्मक महाशाखाको आयोजनामा बुधबार केपीलासगढी गाउँपालिका–४ बाक्सिलामा भएको निःशुल्क स्वास्थ्य घुम्ती शिविरमा ५३३ जनाले सेवा लिएका हुन् । एक दिने स्वास्थ्य शिविरबाट स्त्री रोग, दाँत, आँखा, जनरल अन्तरगत हाडजोर्नी, नशा, वाथ, दम, बाल रोग, छालाजन्य सम्वन्धी समस्या भएका बिरामीले विशेषज्ञ स्वास्थ्यकर्मीबाट उपचार सेवा लिएका छन् । शिविरमा भिडियो एक्सरे तथा स्तन क्यान्सर सम्बन्धी समस्याको समेत चेकजाँचको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

स्वास्थ्य समस्या भएपनि सुविधा सम्पन्न अस्पतालमा पुगेर उपचार गर्नबाट वञ्चित सर्वसाधारणलाई लक्षित गर्दै मन्त्रालयले सोसाईटी फर इमरजेन्सी केयर एण्ड सपोर्ट माउण्टेन हार्टसँगको सहकार्यमा जिल्लाका ९ स्थानमा सञ्चालन हुनेगरी विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य शिबिर सुरु गरेको हो । बिहिबार खार्ताम्छाको बालाबेँसीमा स्वास्थ्य शिविर सञ्चालन हुने शिविर व्यवस्थापनमा खटिएका नविन राईले बताए ।

पुस २३ गते जालपाबाट सुरु गरिएको पहिलो चरणको स्वास्थ्य शिविर ऐसेलुखर्क, हलेसी लगायतका स्थानमा पुस ३० गतेसम्म सञ्चालन हुने छन् । यस्तै, दोश्रो चरणको स्वास्थ्य शिबिर माघ १४ गतेदेखि २० गतेसम्म मात्तिम मानेभञ्ज्याङ, ओख्रेडाँडागाउँ, सिम्पानी, खोटाङबजार र चिसापानीमा सञ्चालन हुने जनाइएको छ । स्वास्थ्य मन्त्रीका प्रमुख सल्लाहकार डा. केके राईको नेतृत्वमा आएका वीर अस्पताल, ग्राण्डी अस्पताल र त्रिपुरेश्वर आँखा अस्पतालका ९ जना विशेषज्ञ डाक्टर, स्वास्थ्य प्राविधिक विशेषज्ञको टोली स्वास्थ्य शिबिरमा स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।

बिहिबार खार्ताम्छाको बालाबेँसीमा हुने स्वास्थ्य शिबिरमा स्वास्थ्य मन्त्रालयले स्थानीयलाई एक थान एम्बूलेन्स हस्तान्तरण गर्ने कार्यक्रम छ । खार्ताम्छा, फेदी, पाथेका र लफ्याङका स्थानीयको स्वामित्वमा रहनेगरी स्वास्थ्य मन्त्रीका प्रमुख सल्लाहकार डा. केके राईको हातबाट एम्बूलेन्स हस्तान्तरण हुने राईले बताए ।