ऐसेलुखर्क गाउँपालिकामा बृहत कृषि मेला प्रदर्शनी

पुस २८ शनिवार, २०७५
कृषि पेशाको सम्मान तथा किसानको प्रोत्साहनका लागि खोटाङको ऐसेलुखर्क गाउँपालिकामा बृहत कृषि मेला प्रदर्शनी गरिएको छ । ‘कृषि उब्जनीको बृद्धि कृषकको सान, व्यवसायीक कृषकलाई सम्मान हाम्रो अभियान’ भन्ने नारासहित ऐसेलुखर्क गाउँपालिका कृषि सेवा शाखाको आयोजनामा बिहिबार र शुक्रबार कृषि मेला प्रदर्शनी गरिएको हो ।
गाउँपालिकाका विभिन्न ठाउँमा उत्पादन भएका कृषि उपजको प्रचार–प्रसार एवम् प्रतिष्पर्धा गराउँदै उत्कृष्ट कृषि उपज उत्पादन गर्दै आएका कृषकलाई प्रोत्साहित गर्नका लागि कृषि मेला प्रदर्शनीको आयोजना गरिएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए ।

ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कस्थित गोदामचौंर खेलमैदानमा योजना गरिएको कृषि मेलामा खाद्यान्न बाली, फलफुल बाली, तरकारी बाली, दलहन तथा तेलहन बाली, आलु बाली, फर्सी बाली र विविध बाली प्रदर्शनमा राखिएको थियो । बिबिध बालीतर्फ किसानले उत्पादन गरेका अलैंची, लसुन, प्याज, बेसार, अदुवा, च्याउ, खुर्सानी, तरुल लगायतका कृषि उपज प्रदर्शनमा राखिएको कृषि सेवा शाखाले जनाएको छ । कृषि मेला प्रदर्शनी समापनको अवशर सहभागी उत्कृष्ट किसानलाई बिभिन्न विद्यामा पुरस्कार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

कृषि उपज प्रदर्शनका लागि ऐसेलुखर्क गाउँपालिकाका ७ वटै वडा जलेश्वरी, महेश्वरी, ज्यामिरे, माक्पा, ऐसेलुखर्क, बाबाचोल र राखाबांदेलका किसान कृषि मेलामा आएका थिए । ऐसेलुखर्कको माक्पामा केही समयअघि बृहत कृषि मेला प्रदर्शनीको आयोजना गरेको थियो । कृषि पेशाको व्यवसायीकरण गर्दै कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्नका लागि कृषि मेला प्रदर्शनीलाई निरन्तरता दिइने गाउँपालिका प्रमुख निरौलाले बताए ।