शहिद श्रेष्ठको २१ औं स्मृति दिवस मनाईयो

पुस २८ शनिवार, २०७५
खोटाङ । शहिद ठुलकुमार श्रेष्ठको २१ औं स्मृति दिवस मनाईएको छ । सशस्त्र द्वन्द्वकोक्रममा राज्य पक्षबाट हत्या गरिएका श्रेष्ठको शुक्रबार दिक्तेलस्थित जिल्ला समन्वयको सभाहलमा स्मृति दिवस मनाईएको हो ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दोपाचिउरीडाँडा–दोवेला घर भएका श्रेष्ठको २०५५ साल पौष २७ गते उदयपुरमा प्रहरीले पक्राउ गरि हत्या गरेको थियो । २०२० सालमा जन्मिएका श्रेष्ठ तत्कालिन अखिल छैठोको संयोजक हुँदै तत्कालिन नेकपा माओवादीको क्रान्ति योद्धाको रुपमा काम गर्दै आएका थिए ।

जनयुद्धमा बन्दुक नचलाई जनतामा सचेतना र जागरुकता पैदा गरेर युद्ध जित्नुपर्छ भन्ने सोँच ठुलकुमारको रहेको कारण उनि त्यो समय चर्चित थिए । २०५४ सालमा प्रहरीले पक्राउ गरि जिल्ला कारागार दिक्तेलमा ३ महिना राखेर छाडिएका श्रेष्ठ माओवादी आन्दोलमा निरन्तर रहँदै गर्दा उनको उदयपुरमा हत्या भएको थियो ।

दिलकाजी–ठुलकुमार स्मृति प्रतिस्ठान खोटाङको आयोजना तथा प्रदेश (ख) का सांसद रामकुमार राई पासाङको प्रमुख आतिथ्यता भएको थियो । ठुलकुमारको तस्विरमा नेकपाका नेता, कार्यकर्ता तथा उहाँका परिवारले माल्यापर्ण गरेका थिए । स्मृति सभा कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।