माघे संक्रान्ति किन र कसरी मनाइन्छ त ?

पुस ३० सोमवार, २०७५
खोटाङ । जाडो सिजन उत्कर्षमा छ । कतै हिमपात भइरहेको छ, कतै कठ्याग्रिने चिसो छ । ठिक यही मेसोमा हामी माघे संक्रान्ति मनाउँछौं । माघ महिनाको पहिलो दिन यो पर्व मनाइन्छ, जसको अनेक नाम छन् । जस्तो माघे संक्रान्ति, मकर संक्रान्ति, माघी ।

हाम्रा पूर्खाहरुले यो पर्व मनाउने चलन त्यसै सुरु गरेका होइनन् । माघे संक्रान्ति मनाउनुको खास अर्थ छ, सामाजिक, आर्थिक सबै दृष्टिले । यो पर्व स्वास्थ्य र समाजसँग पनि एकाकार छ ।

माघे संक्रान्ति भनेको जाडो याममा मनाइने पर्व हो, जसले जाडो यामको एक निश्चित परिवर्तनलाई संकेत गर्छ । ज्योतिष विज्ञानको मान्यता छ, यो दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्छ । यो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धधबाट उत्तरी गोलाद्र्धधतर्फ प्रवेश गर्छ । माघे संक्रातिको साइनो खानपानसँग जोडिएको छ । यस दिन तरुल, घिउ, चाकु, तिलको लड्डु खिचडी आदि खाइन्छ । ग्रामिण समाजमा के पनि प्रचलन छ भने, आफ्नो घरमा पकाएको खानेकुरा छिमेकी कहाँ बाढीचुडी खाने । यो चलनको पछाडि केही तथ्य लुकेको छ ।

तरुल वा कन्दमुल यो सिजनको मौसमी खानेकुरा हुन् । प्राकृतिक रुपमा उत्पादन भएको र मौसमी खानेकुरा स्वास्थ्यका लागि विशेष हुन्छ । अन्य बालीनाली नहुने र भण्डारण गरिएको खानेकुरा पनि सकिएको अवस्थामा कन्दमुल खाएर पनि प्राण धान्ने पुरानो चलनको निरन्तरता हो यो । अहिले पनि मौसमी चक्र अनुसार खानपान शैली अपनाउने हो भने कन्दमुल खानु निकै उपयोगी हुन्छ । यतिबेला घिउ, चाकु, तिलको लड्डु खाइन्छ, जसले शरीरलाई जाडोसँग जुध्न सहयोग गर्छ । अर्थात जाडोमा शरीरलाई न्यानो दिलाउनका लागि यी खानपान उपयोगी हुन्छ ।

माघे संक्रान्ति एक सांकेतिक पर्व हो, जसले फरक खानपान र जीवनशैलीमा हामीलाई प्रेरित गर्छ । यद्यपी हामी माघे संक्रान्तिको एक दिन मात्र यस्ता खानपान शैली अपनाउँछौं । जबकी जाडो याममा नियमित रुपमा कन्दमुल, चाकु, तीलको लड्डु, खिचडी खानु बढी लाभदायक हुन्छ ।