प्रजातान्त्रिक योद्धा रामप्रसाद राई स्मृतिपार्क निर्माणका लागि समिति

माघ १ मंगलवार, २०७५
खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राई स्मृतिपार्क निर्माणका लागि उपभोक्ता समिति गठन गरिएको छ । रामप्रसाद राई स्मृतिपार्क निर्माणका लागि खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा १० लाख वजेट विनियोजन गरेपछि इन्द्रबहादुर राईको अध्यक्षतामा ७ सदस्यीय स्मृतिपार्क तथा टुँडिखेल संरचना निर्माण समिति गठन गरिएको हो । समितिको सचिवमा मनिष राई र कोषाध्यक्षमा विनुकला राई चयन भएका छन् ।

रामप्रसाद राई स्मृति पार्क निर्माणका लागि प्रदेशसभा सदस्य रामकुमार राईको पहलमा १ नम्बर प्रदेशबाट २० लाख बजेट विनियोजन भएको छ ।
तत्कालिन राणा शासन कालमा सेनाको लेफ्टीनेन्ट रहेका राईको नेतृत्वमा खोटाङबजारमा निर्माण गरिएको टुँडिखेल तथा २००५ सालमा रोपेको समीको रुख संरक्षणका लागि शालिक सहितको स्मृति पार्क निर्माणको काम अघि बढाइएको हो । सरकारले जननायक राईको तस्विर अंकित हुलाक टिकट पुस १५ गते प्रकाशन गरिसकेको छ ।

व्रिटिस सेनाको जागीर छाडेर नेपाली सेनामा भर्ती भएपछि तत्कालिन राणा सरकारले उनको कमाण्डमा खोटाङवजारमा सेना खटाएपछि उनले टुँडिखेल निर्माण गर्नुका साथै सामीको रुख रोपेका थिए । टुँडीखेलमा ओछ्याइएको वालुवा उनकै पहलमा स्थानीय सावाखोला र खि खोलाबाट ल्याइएर राखिएका हुन्
। इतिहास बोकेको भएपनि बेखवर बनेको सामीको रुख तथा टुँडिखेलको संरक्षणका लागि किरात राई विद्यार्थी संघको अगुवाईमा शालिक सहितको स्मृतिपार्क निर्माणको पहल थालिएको हो ।