स्वास्थ्य चौकीको भवन निर्माणको काम अलपत्र

माघ १ मंगलवार, २०७५
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित स्वास्थ्य चौकीको भवन निर्माणको काम अलपत्र परेको छ । निर्माणको काम पूरा गरेर २०७४ साल असार मसान्तभित्र हस्तान्तरण गरिसक्नु पर्ने स्वास्थ्य चौकी भवन निर्माणको काम ठेकेदारका कारण अलपत्र परेको हो ।
शहरी विकास तथा भवन विभागको २ करोड ४८ लाखको लागतमा ठेक्का लागेको स्वास्थ्य चौकीको भवन हाल अलपत्र परेको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए ।

भवन ठडिएपनि स्वास्थ्य चौकीको झ्यालढोका, शौचालय, पर्खाल, प्लाष्टर, घेराबारा लगायतका काम पूरा गरिएको छैन । गत असार मसान्तसम्ममा पूरा गर्नुपर्ने भवन निर्माणको म्याद नाघेपछि थप भएको म्याद समेत मंसिरमै गुज्रिसकेको छ । स्वास्थ्य चौकी भवनको बाँकी काम आगामी दुई महिनाभित्र पूरा हुने ठेकेदार सम्भु घिमिरेले बताए ।