विद्युत मर्मत गर्दा पैसा लिएको गुनासो

माघ ३ बिहिवार, २०७५
खोटाङ । विद्युत मर्मत गर्नेक्रममा नेपाल विद्युत प्राधिकरणको दिक्तेल वितरण केन्द्रका प्राविधिकले उपभोक्ताबाट ५ हजार रकम लिएको गुनासो आएको छ । रुख ढाल्नेक्रममा अवरुद्ध विद्युत सुचारु गराउनेक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी कल्पना बस्नेतबाट विद्युत प्राधिकरणको दिक्तेल वितरण केन्द्रका प्राविधिकले रकम लिएको गुनासो आएको हो ।

चिलाउनेको रुख ढाल्नेक्रममा नजिकै रहेको बिद्युतको तार चुँडिएपछि विद्युतका कर्मचारीलाई मर्मतका लागि खबर गरिएकामा मर्मत गरेपछि अनावश्यक रकम मागेको बस्नेतले गुनासो गरिन् ।‘किन पाँच हजार दिनु, दिनुपर्ने भए कार्यालयमै पुगेर रसिद लिएर तिर्ने अडान लिएँ,’ पीडित बस्नेतले भनिन्, तर, उनीहरुले अफिसमा जाँदा ३०/४० हजारसम्म तिर्नुपर्छ, जेलसम्म बस्नुपर्ने हुन्छ । पाँच हजार दिनु हामी आफै मिलाउछौँ भनेर रकम दिन वाध्य पारियो ।’

अवरुद्ध विद्युत मर्मतका लागि दिक्तेलबाट ६ जना प्राविधिक बाम्राङ पुगेको स्थानीयले बताएका छन् । विद्युत मर्मत गर्नेक्रममा उपभोक्ताबाट रकम लिने सिस्टम नभएको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्राविधिक प्रमुख एबं निमित्त प्रमुख उमेश महतोले बताए ।

‘रुख ढाल्ने बेला कार्यालयलाई खबर गर्नुपर्ने हुन्छ, नियम अनुसार क्षतीपूर्ति पनि बुझाउनुपर्ने हुन्छ,’ महतोले भने, तर, त्यसरी पैसा लिने सिस्टम छैन । पैसा लिएको विषयमा प्राविधिकलाई सोधीखोजी गरिरहेका छौँ ।’