होलेसुङ–जनकराज मार्ग स्तरोन्नतिका लागि महिलाको नेतृत्वमा निर्माण उपभोक्ता समिति गठन

माघ ३ बिहिवार, २०७५
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित ‘होलेसुङ–जनकराज राई मार्ग’ स्तरोन्नतिका लागि महिलाको नेतृत्वमा निर्माण उपभोक्ता समिति गठन गरिएको छ । स्थानीयको श्रम र पसिनाको उपयोगमा अढाई वर्ष लगाएर २०७२ सालमा निर्माण गरिएको दुर्छिम छापडाँडाको दलस्वर चोकदेखि सुनकोसीको वतासे जोड्ने १३ किलोमिटर ‘होलेसुङ–जनकराज राई मार्ग’ स्तरोन्नतिका लागि स्थानीयको भेलाले गमिता राईको अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरेको हो ।

पूर्वी तराईबाट उदयपुरको लिम्चिङबुङ गाउँपालिका हुँदै त्रिधार्मिकस्थल हलेसी आवत–जावत गर्ने सबैभन्दा छोटो पर्यटन मार्गका रुपमा उपयोग गर्न सकिने सम्भावना बोकेको ‘होलेसुङ–जनकराज राई मार्ग’ स्तरोन्नतिका लागि प्रदेश नम्बर १ बाट ५५ लाख बजेट प्राप्त भएपछि महिलाको नेतृत्वमा निर्माण उपभोक्ता समिति गठन गरिएको हो ।

बोहेम्मास्थित होलेसुङ शिलालेखपार्कमा भएको भेलाले निर्माण उपभोक्ता समितिको उपाध्यक्षमा धनहरि राई, सचिवमा प्रदिप राई, सहसचिवमा भोजराज राई र कोषाध्यक्षमा कमल राईलाई चयन गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका कार्यवाहक अध्यक्ष फलामसिं राई, सदस्य हर्कराज राई, भद्रकला राई, वडा सचिव सुरेश राई लगायतको उपस्थितिमा भएको भेलाले हरेक योजनामा महिलालाई हस्ताक्षर मात्र गराउने परिपार्टीकाबीचमा नेतृत्व सुम्पिने निर्णय गरेको हो । भेलाले हस्तबहादुर राई (आमोद)को संयोजकत्वमा ५ सदस्यीय अनुगमन समिति गठन गरिएको छ ।

गठन लगत्तै बसेको निर्माण उपभोक्ता समितिको बैठकले सडक स्तरोन्नतीको बारेमा जानकारी दिन बिभिन्न ३ स्थानमा सूचना पार्टी राख्ने, आवश्यक निर्माण सामग्री खरिदमा जानकार व्यक्तिलाई सहभागी गराउने, खरिदपछि सबै उपभोक्तालाई जानकारी दिने लगायतका निर्णय गरेको छ । भेलामा वुद्धिजिवी भोगीराज चाम्लिङ, भूपेन्द्रकुमार राई, रोमबहादुर राई लगायतले ‘होलेसुङ–जनकराज राई मार्ग’मा जस्तै लगानीमैत्री वातावरण बनाउन सके गाउँको मुहार परिवर्तन गर्न सहज हुने बताएका छन् ।

‘आफ्नो गाउँ आफै बनाऔं’ भन्ने भावनाकासाथ स्थानीयको सहभागितामा ५५ लाख ९३ हजार १५० रुपैयाँको लागतमा निर्माण गरिएको सो सडक २०७२ साल जेठ ९ गते उदघाटन गरिएको थियो । पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा जोडिने सडक ओखलढुङ्गा हुँदै सगरमाथा क्षेत्रमा प्रवेश गर्ने छोटो मार्गकारुपमा पनि स्थापित गर्न सकिने सम्भावना गरेको निर्माण उपभोक्ता समितिको दाबी छ । पहिलो चरणमा २०६९ साल चैत्र ५ गतेदेखि २०७० साल जेठ ९ गतेसम्म छापडाँडादेखि ढोडेनीसम्म र दोश्रो चरणमा २०७१ साल चैत्र १८ गतेदेखि २०७२ साल बैशाख ९ गतेसम्ममा सुनकोसीको वतासेसम्म विस्तार गरिएको सडक हाल मर्मत एबं स्तरोन्नतिको पखाईमा रहेको छ ।

हलेसी क्षेत्रका प्रथम कविला प्रमुख (मुखिया) होलेसुङ र प्रमुख चन्दा दाताको नाम राखिएको सडकको प्रचार–प्रसार एबं स्तरोन्नतीमा सबैको ध्यानाकर्षणकालागि स्थानीयले २०७३ सालदेखि हरेक वर्ष होलेसुङ–जनकराज राई मार्ग गोल्डकप सञ्चालन गर्दै आएको छ ।