गायिका अर्जुनाको पूर्वेली लोकभाका बजारमा

माघ ५ शनिवार, २०७५
खोटाङ । खोटाङकी गायिका अर्जुना राईले पूर्वेली लोक भाकाको म्यूजिक भिडियो बजारमा ल्याएकी छन् । सांगीतिक क्षेत्रमा भविष्य खोज्दै संघर्षरत अर्जुनाको ‘सम्झनामा आईरन्छौ’ बोलको पूर्वेली लोक भाकाको भिडियो बजारमा आएको हो ।

२०७४ सालमा ‘तिम्रो मायाँले मलाई के गरायो’ वोलको गीति भिडियो बजारमा ल्याइसकेकी उनले झण्डै बर्ष दिनपछि दोश्रो लोक भाकाको म्यूजिक भिडियो सार्वजनिक गरेकी हुन् ।

२०७३ सालमा ‘तिम्रो मायाँले मलाई के गरायो’ बोलको गीतमार्फत औपचारिक रुपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेकी अर्जुनालाई यस लोक भाकामा गायक शुभम राईले साथ दिएका छन् ।

ईन्द्र जिजिविषाको शव्द तथा संगीतकार/गायक सुमन राईको लय संकलन र कम्पोजमा तयार भएको भिडियो गीतमा सोनिया राई र स्यवं गायक शुभम राईको अभिनय देख्न सकिन्छ । पूर्वी नेपालको गाउँ घरमा घाँस–दाउरा गर्दा लगाईने मायाँ पिरतीको वर्णन गरिएको लोक भाकाको म्युजिक भिडियो खिचडी नेपालको प्रस्तुतिमा हाम्रो प्रतिभा प्रोडक्सनले बजारमा ल्याएको हो ।

लोक लयमा आधारित गीत भए पनि डान्सिङ्ग बिटमा तयार भएकोले श्रोतालाई नचाउने उनको दाबी छ । राजु कार्कीको एरेन्ज र गोविन्द सोनीको मिक्सिङ्ग रहेको म्युजिक भिडियोको छायांकन, सम्पादन र निर्देशन विनोद विनिर्जरा राईले गरेका हुन् । सांगीतिक भविष्य खोजीकाक्रममा हङकङ बसाई छाडेर पुःन स्वदेश फर्किएकी अर्जुनाको यो चौथो गीत हो ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाकी अर्जुनाको पाँचौं गीत पनि रेकर्ड भइसकेको छ । सानै उमेरदेखि गीत गुनगुनाउन रुची राख्ने अर्जुनाले जानकारी भएसम्म कलेजको कुनै पनि सांगीतिक कार्यक्रम छुटाइनन् ।

खोजी प्रतिभा र खोटाङ तारामा विभिन्न चरणको अनुभव संगालेकी अर्जुनाले विभिन्न स्टेज प्रोग्राममा पनि दर्शकलाई मनोरञ्जन दिलाउँदै आएकी छन् ।

 

KHOTANGTODAY ONLINE TV