गाउँपालिकामा विपद व्यवस्थापन तथा जलवायु उत्थानशील योजना बनाइदै

माघ ६ आइतवार, २०७५
खोटाङ । खोटाङको केपीलासगढी गाउँपालिकाले पञ्च वर्षीय विपद व्यवस्थापन तथा जलवायु उत्थानशील योजना निर्माणको काम थालेको छ । बाढी÷पहिरो, खडेरी, चट्याङ, दुर्घटना लगायतका विपदका समयमा जनधनको सुरक्षाका लागि गाउँपालिकाले जनसेवा समाज नेपालद्धारा सञ्चालित सवल परियोजनाको प्राविधिक सहयोगमा पाँच वर्षे विपद व्यवस्थापन तथा जलवायु उत्थानशील योजना निर्माणको काम थालेको हो ।विपद व्यवस्थापन तथा जलवायु उत्थानशील योजना निर्माणको पूर्वतयारी स्वरुप आईतबार गाउँपालिकाको बाक्सिलास्थित कार्यालयमा योजना तर्जुमा बैठक गरिएको छ ।

बाढी÷पहिरो, खडेरी, चट्याङ, जंगली जनावर आतंक, हावाहुरी, आगलागी, महामारी, असिना, सडक दुर्घटना, रोक किरा, भूकम्प लगायतका प्रकोपको विना क्षती सामना गर्नेगरी विपद व्यवस्थापन तथा जलवायु उत्थानशील योजना निर्माणको काम थालिएको हो । वडास्तरमा संकटापन्नता तथा क्षमता विश्लेषण, संकटापन्नता तथा जोखिमयुक्त टोल पहिचान, गाउँपालिका स्तरमा देखिएका मूख्य क्षमता लगायतका आधारमा विपद व्यवस्थापन तथा जलवायु उत्थानशील योजना निर्माणको काम थालिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए ।

समस्या तथा गाउँपालिकाको क्षमता विश्लेषणका आधारमा जीविकोपार्जन तथा खाद्य सुरक्षा, वन तथा भू–संरक्षण, जलश्रोत तथा उर्जा, जल उत्पन्न प्रकोप, मानव स्वास्थ्य, आवास तथा भौतिक पुर्वाधार, शैक्षिक क्षेत्र, सूचना, सञ्चार, समन्वय तथा बन्दोबस्ती÷प्रवबन्ध क्षमता, खोज तथा उद्धार एबं क्षतीको लेखाजोखा तथा आवश्यकताको विश्लेषण, अनुगमन, मूल्यांकन तथा पुनरावलोकन लगायतका क्षेत्रलाई समेटेर विपद व्यवस्थापन तथा जलवायु उत्थानशील योजना निर्माण गरिने गाउँपालिकाले जनाएको छ ।

विपदको सामना गर्नका लागि हलेसी तुवाचुङ नगरपालिकाले पनि नवकिरणसेवा समाज नेपालद्धारा सञ्चालित सवल परियोजनाको प्राविधिक सहयोगमा विपद व्यवस्थापन तथा जलवायु उत्थानशील योजना निर्माणको काम थालिसकेको छ ।