बाक्सिला बजारको डिपिआरको काम सुरु

माघ ६ आइतवार, २०७५
खोटाङ । खोटाङको केपीलासगढी गाउँपालिकाको केन्द्र बाक्सिलामा रहेको बाक्सिला बजार स्तरोन्नतिका लागि डिपिआरको काम थालिएको छ । हालसम्म बाँसको छाप्राबाट सञ्चालन हुँदैआएको बाक्सिला बजारको स्तरोन्नतिका लागि डिपिआरको काम थालिएको हो । करिब ४५ वर्षदेखि निरन्तर बुधबारे हाट लाग्दै आएको बजारको बाँसको चित्राले छाइएका टहरालाई विस्थापित गर्दै फलामे ट्रस राख्नेगरी बजार स्तरोन्नतीको तयारी गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए ।

हाल सञ्चालनमा रहेका करिब २७० छाप्राको सट्टा फलामे ट्रस राख्नेगरी डिपिआर तयार पार्न परामर्शदाता कम्पनी न्यू डायमन्सन इन्जिनियरिङ सर्भिस प्रालिले पुस २२ र २३ गते सर्भे गरिसकेको छ । बढिमा महिना दिनभित्र डिपिआर तयार पार्ने गरी परामर्शदाता कम्पनीलाई कामको जिम्मा दिइएको गाउँपालिका प्रमुख राईले बताए । १ नम्बर प्रदेशले विनियोजन गरेको १ करोड बजेटले बाक्सिला बजारका बाँसका छाप्रालाई फलामे ट्रसले विस्थापित गर्न लागिएको हो । बजार क्षेत्रमा जमिनमा ढलान गरेर जस्ताको छाना भएको फलामे ट्रस राख्ने तयारी गरिएको छ ।

सुरुमा वडा कार्यालय बाक्सिला रहेको ठाउँमा लाग्ने गरेको हटियालाई विक्रम संबत २०३० सालतिर डाँडामा सारिएको हो । बाक्सिला बजार उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्रकारुपमा रहेको छ । बाँसका भाटा, चित्रा तथा काठले बनेका छाप्रा आगलागीको उच्च जोखिममा रहेको थियो ।