जलविद्युत आयोजनाको काममा स्थानीयको अवरोध हट्यो

माघ ७ सोमवार, २०७५
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका स्थानीयले दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको काममा गरेको अवरोध हटाएका छन् । धितुङका स्थानीय र दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाबीचमा सोमवार तीन बुँदे सहमती भएपछि दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको काममा स्थानीयको अवरोध हटेको हो ।

स्थानीयसँग समन्वय नगरी खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमामा पर्ने ३ सय मेगावाटको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको पावरहाउस र सुरुङ निर्माणका लागि भौगर्भिक अध्ययनको काम सुरु गरिएको भन्दै स्थानीयले पुस २० गतेदेखि आयोजनाको काम ठप्प बनाएका थिए ।

द्धिपक्षीय छलफलमा दुधकोसी जलाशययुक्त जलविद्युत आयोजना सञ्चालनकाक्रममा धितुङमा पावरहाउस निर्माण गर्नुपर्ने अवस्थामा सामाजिक उत्तरदायित्वका सम्पूर्ण काम सोही ठाउँका स्थानीयलाई दिएर आयोजना सञ्चालन गर्ने, कोर ड्रिलिङको कामलाई आजैका मितिबाट सुचारु गराउने, परिक्षण सुरुङमार्ग निर्माणकाक्रममा धितुङतर्फ मोटरबाटो निर्माण गर्न आयोजना तथा वडा कार्यालयसँग समन्वय गर्ने, तत्काललाई टेष्ट अडिट खन्ने काम सुरु गर्न दिने लगायतका सहमति भएको धितुङका वडा सदस्य खेमराज कार्कीले जानकारी दिए ।

दुधकोसी जलाशययुक्त जलविद्युत आयोजना प्रमुख वसन्तध्वज श्रेष्ठ, आयोजना प्रशासन अधिकृत सिताराम तरबाडे, दुधकोसी रँभुवा–धितुङ रातेखोला सरोकार तथा संघर्ष समितिकातर्फबाट संयोजक निरकुमार राई र सचिव रमेश राईबीचमा आयोजनाको काम अघि बढाउनका लागि लिखित सहमती भएको हो ।