भूटानकी महारानी हलेसीमा

माघ १५ मंगलवार, २०७५
खोटाङ । त्रिधार्मिकस्थल हलेसीको दर्शन एबं भ्रमणका लागि भूटानकी महारानी सोमवार खोटाङ आइपुगेकी छन् । हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीको दर्शन एबं भ्रमणका लागि भूटानी महारानी आसी दोर्जी वाङ्मो वाङचुक सोमबार हलेसी आइपुगेकी हुन् ।

राजकुमारी सोनम डेक्चन वाङचुक, सोनमका छोरा जिग्जे सिङ्गे वाङचुक, नग्वाङ जिग्मे जिग्तेन वाङचुक लगायत राजपरिवारका सदस्य सहित हलेसी आइपुगेकी महारानी वाङचुकलाई हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले हलेसीमा स्वागत गरेका छन् ।

हलेसी आएलगत्तै महादेवस्थान, पार्वतीथान, बसाहा थान लगायतको दर्शन र अवलोकन गरेकी महारानी मंगलबार (आज) हलेसीको बिशेष पूजा गरी स्वदेश फर्कने कार्यक्रम रहेको नगरप्रमुख राईले बताए ।

शुक्रबार लुम्बिनी र शनिबार तिलौराकोटमा दर्शन भ्रमण गरेकी वाङचुक सोमबार अपरान्ह ४ बजे हलेसी प्रवेश गरेकी हुन् । उनी भूटानका राजा जिग्मेसिग्मे वाङचुककी जेठी रानी हुन् ।