शिल्पी समुदायलाई वडा कार्यालयको पञ्चेबाजा

माघ १६ बुधवार, २०७५
खोटाङ । परम्परागत बाजा पञ्चेबाजा बजाउँदै आएका खोटाङको मंगलटारका शिल्पी समुदायलाई पञ्चेबाजा प्रदान गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार वडा कार्यालयले स्थानीय शिल्पी समुदायलाई एक सेट पञ्चेबाजा प्रदान गरेको हो । दलित समुदायको उत्थानका लागि आर्थिक वर्ष २०७५÷०७६ मा विनियोजन गरिएको ५० हजार खर्चमा बञ्चेबाजाको सेट प्रदान गरिएको वडाध्यक्ष रमेश राउतले वताए ।

उनीहरुलाई नसिंङ्गा, बिगुल, सनाई, दमाहा, ट्याम्कु र झ्याम्टाको सेट प्रदान गरिएको छ । लोपोन्मुख बनेको पञ्चेबाजाको संरक्षण गर्दै शिल्पी समुदायको व्यवसायिकता विकासका लागि वडा कार्यालयले पञ्चेबाजा प्रदान गरेको जनाएको छ । वडाले एक सेट पञ्चेबाजा प्रदान गरेपछि शुभ कार्यमा पञ्चेबाजा बजाउँदै आएका शिल्पी समुदाय उत्साहित भएका छन् ।

बिहे, पास्नी, ब्रतबन्ध, उत्सव लगायतका बेलामा बजाइने पञ्चेबाजा पछिल्लो समय लोपोन्मुख बनेकाले काठ्माण्डौंमा खरिद गरेर पञ्चेबाजा प्रदान गरिएको वडाध्यक्ष राउतले बताए ।  पञ्चेबाजा बजाउँदै आएका मंगलटारका दुई समुहमध्ये एक समुहलाई यसअघि मंगलटार मिलन केन्द्रले एक सेट पञ्चेबाजा प्रदान गरेको थियो ।