भोका मान्छेहरु

चित्रकुमार सुवेदी

रुपाकोट मझुवागढी नगरपालिका” ६ नेर्पा, खोटाङ

यता गाउँमा,
दिनभरी धान रोपी सुन्तलीले
दिनभरी खेत जोत्यो हर्केले
ढाड सिधा भएन
दुबैको ” बेलुकी
खुइअ” खुइअ” खुइअ
सुस्केरा हाले दुबैले
पानी उमाले
मस्काए ढिडो
साधेर गुन्द्रुक
मिचेर अकबरे खुर्सानी
के भ्याउथ्यो, गाठे” कुराउनीले
उता शहरमा,
भव्य समारोहमा
उच्च पदस्थ भनिएकाहरुले
चपाए मासु र चिउरा
संगै रम”रम पार्ने
बिदेशी बोतल
होडवाजी चल्यो
कस्ले धेरै खाने र मात्ने
महासय,
तिमी जसलाई गरिब भन्छौं
दुःखी भन्छौं
र भोका भन्छौं
उनीहरु,
उनीहरु एक डल्लो ढिडोले अघाउछन्
आनन्दले रात बिताउछन छाप्रोमा
जसलाई
धनी भन्छौं
सुखी भन्छौं
चिल्ला कारमा कुद्नेहरु
तिनिहरु,
सयौ डल्लाहरुले पनि अघाउदैनन्
हजारौ बोतलले पनि अघाउदैनन्
त्यसैले,
घृणा नगर
गाउँका झुत्रे झाम्रेलाई
तिनिहरु त देश बनाउने हुन
देश बचाउँने हुन
धर्तीमा सुन फाउने हुन
ति
कैल्य नअघाउने
केहीले नअघाउने
राती कैल्य ननिदाउने
सिङ्गै दरबार खाएपनि अघाउदैन
पुरै घरबार खाएपनि अघाउदैन
होसियार वन
देश खाएपनि अघाउदैन
भोका मान्छेहरु ।