विमानस्थलको काम गुणस्तरयुक्त गर्न निर्देशन

माघ १७ बिहिवार, २०७५
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मनमायाँ राई खानीडाँडा विमानस्थल मर्मतको काम गुणस्तरयुक्त गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । गत जेठ १ गतेको भारी वर्षाका कारण ड्रेन (ढल) थुनिएपछि रन–वेमा जमेको पानी फुटेर बाहिरिँदा विमानस्थलको डिलको माटो कटान सुरु भएपछि उच्च जोखिममा परेको बिमानस्थल मर्मतको काम गुणस्तरहिन भएको भन्दै नगरपालिकाले विहिबार ठेकेदार कम्पनीलाई गुणस्तरयुक्त काम गर्नका लागि निर्देशन दिएको हो ।

विमानस्थल मर्मतको काम अनुगमनमाक्रममा चरम ढिलासुस्तीका साथै आरसिसि ढलानको काममा प्रयोग गरिएका बालुवा र गिटी न्यून गुणस्तरको प्रयोग गरिएको पाइएकाले ठेकेदार कम्पनी कान्छाराम कन्ट्रक्सनलाई गुणस्तरको मापदण्ड पूरा गर्न निर्देशन दिइएको नगरप्रमुख दिपनारायण रिजालले वताए ।

नगरपालिकाले विमानस्थल मर्मतको काममा लागत अनुमान अनुसारको गुणस्तरयुक्त निर्माण सामग्री प्रयोग गर्न निर्देशन दिएको जनाएको छ । भारी वर्षाका कारण माटो कटान हुँदा जोखिममा परेको बिमानस्थल मर्मतमा चरम ढिलासुस्तीका साथै निर्माणका काममा माटो मिसिएको बालुवा र गिटी प्रयोग भइरहेको पाइएको नगरपालिकाले जनाएको छ ।

करिव ७ करोडमा विमानस्थलमा झर्ने भलपानी निकासका लागि रनवेमुनि विछ्याइएको नाली मर्मतकाक्रममा एक हजार घनमिटर आरसिसि ढलान गर्ने र नालीबाट निकास जाने खोलासम्म पर्खाल लगाउने कामको ठेक्का लागेको हो । ढल पसेर विग्रिएको धावनमार्गको बीच भागदेखि डिलसम्मको नालीमा आरसिसि ढलान गर्ने, त्यसमाथि सम्याएर कालोपत्रे गर्ने, खोलामा ग्याभीन तथा मेसिनरी वाल हाल्ने लगायतका कामको ठेक्का कान्छाराम कन्ट्रक्सनले लिएको हो ।

जमिन भिजेर माथिवाट खसेको स्ल्यावले ड्रेन थुनिँदा रन–वेमाथिबाटै निकासा भएको पानीले विमानस्थलको दक्षिणीतर्फका डिल कटान गरेको छ । रनवेमा भरिएर किनाराबाट निकास भएको भलपानीले विमानस्थलको १०/१५ मिटर डिल भासिनुका साथै फिलिङ माटो बगाएको छ । कटानका कारण विमानस्थलको रनवेभन्दा २/३ मिटर नजिकसम्मको भाग भासिएको छ ।