खोटाङमा सुरु भयो लाटोकोसेरो तथा हुचिल उत्सव

माघ १८ शुक्रवार, २०७५
खोटाङ । खोटाङको जालपामा आठौं लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ । अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवशर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा वडा कार्यालय र प्रकृतिका साथीहरु नामक संस्थाको सहकार्यमा जालपामा शुक्रबारदेखि दुई दिने नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको हो । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले ढाकिएको हुचिल स्तम्भको पर्दा खोलेर उत्सव उद्घाटन गरेका हुन् ।

‘किसानको साथीका रुपमा रहेको र प्राकृतिक सन्तुलन कायम गर्नमा भूमीका निर्वाह गरिरहेको लाटोकोसेरो तथा हुचिल संरक्षणमा टेवा पु¥याउनका लागि जालपामा उत्सवको आयोजना गरिएको हो । पशुपंछी लगायत प्रकृतिको संरक्षणका लागि जनचेतना जगाउन आयोजित लाटोकोसेरो तथा हुचिल उत्सवका कारण जालपामा चहलपहल बाक्लिएको छ ।

लाटोकोसेरो तथा हुचिल उत्सवस्थलमा जिल्ला तथा जिल्ला बाहिरका स्थानीयको सहभागीता रहेको लाटोकोसेरो तथा हुचिल उत्सव आयोजक मूल समितिका संयोजक एबं वडाध्यक्ष विकास राईले बताए । उत्सवको पहिलो दिन चरा अवलोकनका साथमा प्रकृतिको तस्बिर खिच्ने, लाटोकोसेरो सम्बन्धी लघु संग्रहालय प्रदर्शनी, प्रकृति तथा वन्यजन्तु संरक्षण सम्बन्धी विभिन्न अनुसन्धानकर्ताको प्रस्तुती, लोपोन्मुख बिनायो, मुर्चुङ्गा, पीपीरी, बाँसुरी, एलम्बर बाजा, मादल सहितको संयुक्त वाद्यबादन, हाक्पारे गीत, लाखे नाच, रोपाई जात्रा, साकेला लगायतका लोक साँस्कृति नाच प्रदर्शनी गरिएको छ । उत्सवमा लोपोन्मुख खेल लाथ्रो काट्ने प्रदर्शनी पनि गरिएको छ । शुक्रबार राती लाटोकोसेरोको महत्व दर्शाउने खालका स्लाईड तथा भिडियो प्रदर्शनी गरिने आयोजकले जानकारी दिएको छ ।

‘लाटोकोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौं’ भन्ने नारासहित सुरु लाटोकोसेरो तथा हुचिल उत्सवको दोश्रो दिन वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीबाट लाटोकोसेरो संरक्षण सम्बन्धी नाच, मारुनी, हिन्दु महिलाको संगिनी नाच, तामाङको डम्फु र सेलो, बालनका साथमा सडक नाटक प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ ।

उत्सवको अन्तिम दिन घिर गाडे र झुलो चकमक खेलको प्रदर्शनी गरिने छ । लाटोकोसेरो सम्बन्धी लघु म्यूजियम प्रदर्शनी, चरा अवलोकनका साथमा प्रकृतिको तस्विर खिच्ने र प्रकृति तथा वन्यजन्तु संरक्षण सम्बन्धी अनुसन्धानकर्ताको प्रस्तुतीले शनिवार पनि निरन्तरता पाउने लाटोकोसेरो तथा हुचिल उत्सव आयोजक मूल समितिका संयोजक एबं वडाध्यक्ष राईले बताए । उत्सवमा स्थानीय कृषि उपज तथा अन्य सामग्री समेत प्रदर्शनीमा राखिएका छन् । समापन अवशारमा रेडपाण्डा संरक्षण सञ्जाल समिति फेदी र रावाखोवा–तापखोला–लिदिङखोला संरक्षण मञ्चलाई सम्मान गर्ने ताम्रपत्रकासाथमा सम्मान गर्ने जनाइएको छ ।

यसैबीच, खोटाङमा आयोजित लाटोकोसेरो तथा हुचिल उत्सवको अवशरमा दुई व्यक्ति तथा एक संस्थालाई प्रकृति संरक्षण पुरस्कार प्रदान गरिएको छ । लाटोकोसेरो तथा हुचिल उत्सवको अवशरमा विगत दुई दशकदेखि पंक्षी अनुसन्धान र संरक्षणमा योगदान पु¥याएकामा कास्की माछापुछ्रे गाउँपालिका धितालका रामजी गौतम, एक दशकदेखि सञ्चार माध्यमबाट वन्यजन्तु तथा प्रकृति संरक्षणमा महत्वपूर्ण योगदान गरेकामा वर्दिया गुलरिया नगरपालिका बंगलामुखी मन्दिर टोलका यादव आचार्यलाई प्रकृति संरक्षण पुरस्कार प्रदान गरिएको हो ।

यस्तै, चरा संरक्षणका लागि विगत चार दशकदेखि वैज्ञानिक अनुसधान र सहभागीतामूलक संरक्षणका माध्यमबाट योगदान पु¥याएकामा नेपाल पंछी संरक्षण संघ लाजिम्पाट काठ्माण्डौंलाई पुरस्कृत गरिएको छ । दुई संरक्षणकर्मी र एक संस्थालाई जनही २५ हजार राशीको प्रकृति संरक्षण पुरस्कार प्रदान गरिएको हो ।
यस्तै, जालपाले हुचिललाई वडा पंक्षी घोषणा गरेको छ ।

लाटोकोसेरो तथा हुचिल उत्सवको अवशरमा वडा कार्यालय जालपाले हुचिल (हाप्सिलो) लाई वडा पंक्षी घोषणा गरेको हो । वडामा रहेका लाटोकोसेरो अनुसन्धान र संरक्षणका लागि विशेष पहल गर्दै नेपाल सरकारमार्फत अनुमोदन गराउन ेगरी हुचिललाई वडा पंक्षी घोषणा गरिएको वडाध्यक्ष राईले बताए ।