हलेसी साईनो स्टारको टप ट्वान्टी छानिए

माघ १९ शनिवार, २०७५
खोटाङ । खोटाङमा जारी हलेसी साईनो स्टार–२०७५ का उत्कृष्ट २० प्रतियोगी छानिएका छन् । शनिबार दिक्तेलमा भएको चौथो अडिसनबाट गायनका उत्कृष्ट २० प्रतियोगी छानिएको आयोजक साईनो कला केन्द्र खोटाङका अध्यक्ष प्रमोद श्रेष्ठले बताए । चौथो अडिसनमा पुगेका ४१ प्रतियोगीबीचमा प्रतिष्पर्धा गराउनेक्रममा २० जनाले पाँचौं राउण्डको यात्रा तय गरेका हुन् ।

हलेसी साईनो स्टारका टप ट्वान्टीको छनौटसँगै भोटिङ राउण्ड पनि सुरु भएको छ । जिल्ला स्तरिय पाँचौं अडिसन आगामी शनिवार दिक्तेलमा सञ्चालन हुने आयोजकले जनाएको छ । जिल्लाका १० वटै स्थानीय तहका ११ स्थानमा सञ्चालन गरिएका पालिका स्तरिय अडिसनबाट छानिएका ११८ प्रतियोगीमध्ये २० जना बाँकी रहेका हुन् ।

गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभाको पहिचान र संवद्र्धन गर्दै गीत संगीतको व्यवसायीक बिकासका लागि साईनो कला केन्द्र र हलेसी टाइम्स दैनिकको सहकार्यमा गत पुस ९ गतेदेखि २८ गतेसम्म पालिका स्तरिय प्रथम अडिसन सञ्चालन गरिएको थियो । पालिका स्तरिय अडिसनबाट छानिएका प्रतिष्पर्धीलाई ७ चरणमा सञ्चालन हुने जिल्ला स्तरिय अडिसनमा प्रतिष्पर्धा गराएर उत्कृष्ट दशमा पुगेका प्रतियोगीबाटै फाईनल अडिसन सञ्चालन गरेर विजेता छनौट गरिने अध्यक्ष श्रेष्ठले जनाए ।

गायन प्रतियोगीता हलेसी साईनो स्टारमा प्रथम हुने स्वरका प्रतिभाले नगद ५५ हजार ५५५ रुपैयाँका साथमा गीत रेकर्डिङ, एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवशरकासाथमा प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् ।

यस्तै, दोश्रो हुने प्रतिभालाई नगद ३० हजारका साथमा एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवशरकासाथमा प्रमाणपत्र र ट्रफी तथा तेश्रो हुने प्रतिभालाई नगद १५ हजार ५५५ रुपैयाँकासाथमा एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवशरकासाथमा प्रमाणपत्र र ट्रफी प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए ।

‘अझै पनि कुना कन्दरामा लोभलाग्दा प्रतिभाहरु ओझेलमै छन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘अवशर खोजीरहेका तिनै प्रतिभालाई पहिचान गरेर व्यवसायिक रुपमा गीत संगीतमा लाग्ने वाताबरण निर्माणका लागि हलेसी साईनो स्टारको परिकल्पना गरिएको हो ।’