श्रीरामको ‘मधुमासमै मिठो साथ छुटेपछि’

माघ २० आइतवार, २०७५
खोटाङ । खोटाङका साहित्यकार श्रीराम राईको पहिलो गीत बजारमा आएको छ । २०७५ सालमा बालकथा संग्रह ‘टोली नेता’ प्रकाशन गरेका साहित्यकर्मी राईले गायिका शिला खनालको स्वर र संगीतमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको गीत बजारमा ल्याएका हुन् । लक्षुप्रकाश मल्लको एरेञ्जमा सार्वजनिक गरिएको गीत ४ मिनेट ४६ सेकेण्डको रहेको छ ।

अनपेक्षित घट्नाका कारण आफ्नो जोडी वा बालबच्चा गुमाउँदाको पीडाभावलाई गीतमा व्यक्त गरिएको छ । अभिनय, संगीत र गायनमा चर्चित खनालको स्वर समेटिएको पहिलो गीतको भिडियो चाँडै बजारमा ल्याउने तयारी भइरहेको राईले बताए ।

१० वर्षे शिक्षण पेशा छाडेर काठ्माण्डौं छिरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका राई साहित्य लेखन र पत्रकारितामा क्रियासिल छन् । विशेषगरी बालकथामा दख्खल राख्ने राई लघुकथा, हाईकु, मुक्तक, गजल र कवितामा पनि उत्तिकै सशक्त मानिन्छन् । संयुक्त लघुकथा संग्रह ‘आजका लघुकथा’मा समेत उनका लघुकथा समावेश छन् । उनको बालकथा संग्रह ‘पोलेको मकै’ प्रकाशनको अन्तिम तयारीमा छ ।