सरकार पुरानै ढंगले अघि बढ्यो : डा. भट्टराई

दिलीप खत्री
माघ २१ सोमवार, २०७५
खोटाङ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार ‘चल्तीचलाते’ ढंगले अघि बढेको बताएका छन् । अशल राजनीति र समाबेसी विकासका लागि जनसंवाद’ गर्नेक्रममा खोटाङ आइपुगेका डा. भट्टराईले सोमबार बिहान दिक्तेलमा भएको पत्रकार भेटघाट कार्यक्रममा जनताले तिब्र गतिमा ‘छलाङ’ हान्ने विकासको अपेक्षा गरेपनि सरकार पुरानै तरिकाले चलेको वताएका छन् ।

दिक्तेलको रत्नपार्कस्थित किरातचोकमा मध्यपहाडी लोकमार्गमा उभिएर आफ्नो धारणा राखेका पूर्वप्रधानमन्त्री भट्टराईले जनताको अपेक्षा अनुशार सुशासन, न्याय–निसाफ, शान्ति सुरक्षा गुणात्मक बनाउन नसक्दा जनतामा निरासा छाएको बताए । ‘सरकार वनेको वर्ष दिनको अवधिमा सामान्य परिवर्तन भएको छ, केही काम भएको छ । नियम–कानूनहरु बनेका छन । त्यो भएन भन्न मिल्दैन,’ डा. भट्टराईले भने, ‘तर, चल्तीचलाते प्रकारको पहिलाकोजस्तो विकासले पुग्दैन । जनताले अत्यन्त तिब्र गतिमा एउटा छलाङ हान्ने ढंगको विकास खोजेको छ । सरकार भने उहीँ पुरानै तरिकाले चलेको छ ।’

नयाँ शक्तिका संयोजक रहेका डा. भट्टराईले जनताको जीवनमा परिवर्तन आउने खालका ठूला–ठूला परियोजना, लाखौं जनाले रोजगार प्राप्त गर्ने वातावरण बन्न नसकेको वताए । उनले लोकतन्त्रलाई साँच्चीकै लोकतान्त्रिकरण गर्ने, जनताकै घरदैलोमा पु¥याउने, राज्यका सबै अंग, तह र निती÷निर्माणमा जनताको सहभागीता गराउन स्थानीय तहलाई बलियो बनाउनुको विकल्प नरहेको धारणा राखे । ‘लोकतन्त्रलाई साँच्चै बलियो बनाइयो भने सरकार र सरकारमा रहेका पार्टीले गल्ती ग¥यो भने जनताले सच्याएर विकल्प खोज्न सक्छन्,’ भट्टराईले भने, ‘त्यही भएर जनता नै सबल भएर सरकारलाई घच–घच्याइ राख्नु पर्छ ।’

वर्तमान राजनीतिमा देखिएको फोहोरीकरण, बिकृतिकरण र भ्रष्टीकरणलाई शुद्धिकरण गर्ने र समावेसी विकासको उपाय बारे जनप्रतिनिधि र जनतासँग सडकमै सम्बाद गर्नेक्रममा पूर्वप्रधानमन्त्री भट्टराई आईतबार साँझ दिक्तेल आइपुगेका हुन् । मध्यपहाडी लोकमार्गको प्रगति, ढिलासुस्ती र यसले ल्याउने संमृद्धिका बारेमा अध्ययन र अवलोकन गर्दै माघ १५ गते पाँचथरको चियोभञ्ज्याङदेखि सुरु भएको अन्तरसम्बाद फागुन १५ गते पश्चिम झुलाघाट पुगेर टुंगिने नयाँ शक्तीले जनाएको छ ।

‘नेपाली राजनीति फोहोरीकरण भएको छ, विकृतिकरण र भ्रष्टीकरण भएको छ त्यसलाई शुद्धिकरण गर्ने उपाय बारे जनताको धारणा बुझ्दै हिँडेका छौँ,’ भट्टराईले भने, विकास र संमृद्धि समाबेशी हुनुपर्छ । सबै क्षेत्र, सबै जाती, लिंग र समुदायका जनताले विकासको फल पाउनु पर्छ । त्यस्तो समाबेशी विकास गर्ने बारे पनि धारणा बुझिरहेका छौँ ।’

डा. भट्टराईले मध्यपहाडी लोकमार्ग आसपासमा शहरको विस्तार, उद्योग निर्माण गर्दै रोजगारी सिर्जना गर्न सके अनियन्त्रित बसाई सराई र बिदेश पलायनलाई रोकेर अर्थतन्त्रलाई नयाँ जीवन दिन सकिने सम्भावना औंल्याएका छन् । मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डका स्थानीयले मुआव्जा नपाएकाले मुआव्जाका लागि पहल गर्न पूर्वप्रधानमन्त्रीलाई माग गरेका छन् । डा. भट्टराईका साथमा उहाँकी श्रीमती हिसिला यमी लगायत सहभागी थिए ।