सरकारको विरोधमा खोटाङमा कांग्रेसको शक्ति प्रदर्शन

माघ २१ सोमवार, २०७५
खोटाङ । नेपाली कांग्रेस खोटाङले सरकार विरुद्ध विरोध जुलुस प्रदर्शन गरेको छ । गाउँ–गाउँका नेता तथा कार्यकर्तालाई दिक्तेलमा उतारेर कांग्रेसले सोमबार विरोध जुलुस प्रदर्शन गरेको हो । जिल्लाका अधिकांश नेता तथा कायकर्ताको उपस्थिति देखाएर कांग्रेसले प्रतिपक्षीको शक्ति प्रदर्शनको शैलीमा विरोध जुलुस निकालेको छ । मुलुकका व्याप्त भ्रष्टाचार, चिकित्सा शिक्षा विद्येयक, वाइडबडी विमान खरिद प्रकरण, निर्मला पन्तको बलात्कारपछि हत्या, मूल्यबृद्धिलगायतका विरुद्ध कांग्रेसले दिक्तेलमा सरकार विरुद्ध प्रदर्शन गरेको जनाएको छ ।
कांग्रेस जिल्ला कार्य समितिको आयोजनामा भएको बिरोध जुलुसमा राज्य आतंक बन्द गर्न, संसदीय मर्यादा पालना गर्न, हत्याहिंसा बन्द गर्न, भ्रष्टाचारीलाई कारबाही गर्न लगायतका माग गर्दै नाराबाजी गरिएको छ । नेपाली काँग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठको नेतृत्वमा दिक्तेलस्थित बिरोध ¥याली रत्नपार्क, बेशक्याम्प, त्रिवेणीचौक, हाटडाँडा हुदै हेलीप्याडमा पुगेर विरोध सभामा परिणत भएको थियो ।
सरकारको कडा शव्दमा आलोचनाका हेलीप्याडमा भएको विरोध सभालाई नेपाली कांग्रेस खोटाङका पूर्व सभापति तथा महासमिति सदस्य बिष्णुकुमार राई, महासमिति सदस्य सुवाशकुमार पोखरेल, पूर्व सांसद तथा महासमिति सदस्य सरस्वती बजिमय, महासमिति सदस्य दिनेश राई, महासमिति सदस्य केशवकुमार कार्की, जिल्ला उपसभापति नवराज केसीलगायतले सम्वोधन गरेको क्षेत्रीय सभापति तीर्थराज भट्टराईले जानकारी दिए ।
कांग्रेस नेताहरुले विधिको शासनको पालना गर्न, सुशासन कायम गर्न, डा. गोविन्द केसीसँग भएका सम्झौता पूरा गर्न, चर्को मूल्यवृद्धि फिर्ता गर्न, निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाही गर्न, ३३ किलो सुनकाण्डका गिरोहलाई कारबाही गर्न सरकार असफल भएको बताएका छन् । वडा, गाउँपालिका र नगर कार्य समितिको अगुवाईमा कांग्रेस नेता तथा कार्यकर्ता बिरोध कार्यक्रममा सहभागी हुन आएका थिए ।