प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजनाले दियो किसानलाई पावर ट्रिलर

माघ २१ सोमवार, २०७५
खोटाङ । प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन) को कार्यालय खोटाङले किसानलाई पावर ट्रिलर वितरण गरेको छ । कृषि पेशालाई यन्त्रीकरण गर्दै व्यवसायीकरण गर्ने उद्देश्यकासाथ परियोजनाले १५ वटा पावर ट्रिलर (हाते ट्याक्टर) प्रदान गरेको हो ।

प्रोत्साहन अनुदान अन्तरगत ९ किसान समुहलाई शतप्रतिशत अनुदानमा र व्यवसायिक रुपमा कृषि पेशा अपनाइरहेका ६ किसानलाई मागका आधारमा ५० प्रतिशत अनुदानमा जमिन जोत्ने पावर ट्रिलर वितरण गरिएको प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन) कार्यालयका निमित्त कृषि बिकास अधिकृत ध्रुवकुमार कार्कीले बताए ।

कृषि ज्ञान केन्द्रको कार्यालयमा सोमवार भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल, जिल्ला समन्वय अधिकारी शरदकुमार पोखरेल, प्रहरी नायव उपरिक्षक राजकुमार केसीलगायतले किसानलाई पावर ट्रिलर हस्तान्तरण गरेका छन् ।

परियोजनाका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित फूलबारी कृषक समुह, हरियाली आयआर्जन कृषक समुह, हातेमालो कृषि सहकारी संस्था, पिप्ले दिक्तेलबारी कृषक समुह, पञ्चमावि माझटोल कृषक समुह, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित नवजागरण तरकारी कृषक समुह, नयाँ पहिचान कृषक समुह, सकृय कृषक समुह र सुर्यमुखी मकै बीउ उत्पादन कृषक समुहलाई शतप्रतिशत अनुदानमा प्रतिवटा ७० हजार मूल्या पर्ने एक/एक थान पावर ट्रिलर प्रदान गरिएको छ ।

यस्तै, किसानकै मागका आधारमा ५० प्रतिशत अनुदानमा प्रतिवटा ८० हजार मूल्या पर्ने ६ वटा पावर ट्रिलर वितरण गरिएको छ । किसानको माग आए ५० प्रतिशत अनुदानमा थप पावर ट्रिलर हस्तान्तरण गरिने जनाइएको छ । ५० प्रतिशत अनुदानमा पावर ट्रिलर खरिदका लागि १० लाख बजेट आएको मकै जोन सञ्चालक समितिका संयोजक दिपेन्द्र राईले बताए ।